किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले खुवालुङलाई कहिले पनि राईहरूको मात्रै हो भन्ने दाबी नगरिएको प्रष्ट पारेका छन् ।
तर मुक्कुमलुङलाई भने लिम्बू नेता तथा विद्वानहरूले नै लिम्बूहरूको मात्रै हो भन्ने दाबी गरिरहेको उनले बताए ।
अध्यक्ष राईले सामाजिक सञ्जाल युट्युबमा आज एक भिडिओ पोस्ट गर्दै भने, ‘खुवालुङ राईहरूको मात्रै हो भनेर हामीले अहिलेसम्म भनेका छैनौ र भन्दा पनि भन्दैनौ ।’
राई, लिम्बू, याक्खा, सुनुवार, जिरेल, सुरेल, हायू, थामीलगायत आफूलाई किराती भन्ने आदिवासीहरू सबैको खुवालुङ एक साझा पवित्र स्थल रहेको उनले प्रष्ट पारे ।
खुवालुङ राईहरूकै मात्रै हो भन्ने भाष्य कसरी निर्माण भयो ? भन्दै उनले आश्चर्य पनि प्रकट गरे ।
‘खुवालुङमा राईहरूलाई दुख्दा लिम्बूहरूलाई पनि दुखेको थियो । तर अहिले मुक्कुमलुङमा लिम्बूहरूलाई दुखिरहँदा राईहरूलाई किन दुखेन ? राईहरू किन चुइक्क बोलेनन् ?’ भन्ने कुरा सामाजिक सञ्जालमा आइरहेको भन्दै उनले भने, ‘अरूलाई हल्का तरिकाले लिएर यायोक्खा र सबै राईहरूलाई गाली गर्ने काम भइरहेको छ ।’
उनले कोशी प्रदेश खारेजी सम्बन्धी प्रदेश नं १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिमा रहेका लिम्बू नेताहरूले नै सुरुदेखि नै मुक्कुमलुङको छलफल तथा आन्दोलनहरूमा अरूलाई सहभागी गराउन नचाहेको खुलासा पनि गरे ।
त्यही कारण यायोक्खाले विज्ञप्ति मात्रै जारी गरी आन्दोलनमा नैतिक समर्थन जनाउँदै आएको अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईले गत माघ ९ गते मुक्कुमलुङमा जबरजस्ती केबलकार निर्माण अघि बढाइएको भन्दै सोकाे विरुद्धमा विज्ञप्ति निकालेका थिए ।
जसमा मुक्कुमलुङलाई किराती समुदायको आस्थाको केन्द्र भन्दै मुक्कुमलुङमाथिको अतिक्रमण तत्काल रोक्न चेतावनी दिइएको छ ।
अध्यक्ष राईले मुक्कुमलुङ संयुक्त संघर्ष समितिले गरिरहेको आन्दोलनमा यायोक्खाकाे तर्फबाट आर्थिक, नैतिक, भौतिक साथ रहने प्रतिबद्धता पनि जनाए ।
उनले बरु केबलकार निर्माण कम्पनीका मालिक व्यवसायी चन्द्र ढकाललाई अब काम रोक्दा घाटा नै लाग्ने हो भने अहिलेसम्म भएको खर्च कति हो यकिन गरेर सारा किरातीहरूले चन्दा उठाएर दिने गरी प्रस्ताव पनि लानुपर्ने बताए ।
पृथ्वीनारायण शाहको रणनितिले आज पुर्णसफल भएको अबस्था हो । माझकिरात अति उट्पिडनमा परेको कुरा आज पल्लोकिरातले नै खुलेर बोलेको छन तर अतिक्रम भएको बेला जान अन्जान भएको पुर्खेउलि कमिकम्जोरिहरुको समिक्षा सच्याएर मात्रै अघि नबढ्दाको परिणाम दम्भले ऐतिहासिक बिरासत कुल्चिएर एक्लै अघि जाने पल्लोकिरात खुवालुङ माझकिरातको मुकुम्लुङ्ग पल्लोकिरातको भन्ने अपरिपक्क बाल भास्य सजिलै बोलिरहदा मुकुम्लुङ अतिक्रमण गर्न झन सजिलो भएकै हो तर यो अभिब्यक्तिलाई पनि बिरोध असहयोग नै हो भनेर बुझ्ने स्तरमा पल्लोकिरातको प्राय सबै प्रा.डा. हरु सहमत हुन्छन आफै पुच्छर उचालेर सिङ्गारि तर्सिएको अबस्था !यति बेला जयस्थिति मल्लको सपना र पृथ्वीनारायण शाहाको मेहेनत सफल भएकोछ ।