मुक्कुमलुङ आन्दोलनकारीमाथि सशस्त्र प्रहरीद्वारा दमन

केबलकार निर्माण अघि बढ्छ, प्रधानमन्त्री समय नै दिँदैनन्

ताप्लेजुङमा मुक्कुमलुङ संरक्षक आन्दोलनकारीहरूमाथि प्रहरीले दमन गरेको छ ।

शनिबार सशस्त्र प्रहरीले आन्दोलनकारीहरू भेला भएर बस्ने ठाउँमै पुगेर उनीहरूमाथि कुटपिट गर्नुका साथै अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ ।

जस कारण ७० वर्षीय केन्द्रसिंह फुरुम्बोसहित जीतबहादुर केदेम, दिपेश मादेन, जीवन वनेम, शशीहाङ पोमू, लक लिम्बू र राजन लिम्बू घाइते भएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले जनाए ।

मुक्कुमलुङ संरक्षण पक्षधरहरू फेदीभन्दा माथि बलुडाँडा भन्ने ठाउँमा भेला भएका थिए । सो ठाउँमा आन्दोलनकारीहरू सधै भेला भएर बस्ने गरेका थिए ।

सशस्त्र प्रहरीहरू सोही ठाउँमा गएर दमनमा उत्रिएका हुन् ।

‘केबलकार निर्माण गर्ने एउटा निजी कम्पनीको पक्षमा राज्य आफै लागेर जनतामाथि निर्मम दमन गर्ने काम भयो,’ शनिबार साँझ येक्तेनले भने, ‘अहिलेसम्म हाम्रा साथीहरू सबै जंगलतिरै छन्, प्रहरीले हवाइफायर गरिरहेका छन् रे ।’

भेला भएर शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा समेत राज्यले बर्बर दमन गरेको उनले बताए ।

हाल मुक्कुमलुङमा प्रहरी प्रशासन तथा सुरक्षा निकायलाई फ्रन्टलाइनमा राखेर जबरजस्ती रूपमा केबलकार निर्माण अघि बढाइएको छ ।

मुन्दुमी स्थल मुक्कुमलुङमाथिको सांस्कृतिक अतिक्रमण र त्यहाँको वन तथा पर्यावरणसमेत विनाश हुने गरी एउटा निजी कम्पनीले नाफा कमाउन केबलकार परियोजना ल्याइएको भन्दै आन्दोलनकारीहरूले सो स्थानलाई प्राकृतिक रूपमै रहन दिनुपर्ने माग गर्दै आएका छन् ।

अध्यक्ष येक्तेनले केबलकार निर्माण रोक्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न चाहेको भए पनि उनले समय नै नदिएको बताए ।

गृहमन्त्री रमेश लेखकलाई भेट गरिएको तर उनी गम्भीर बन्न नसकेको उनले बताए ।

येक्तेनका अनुसार राज्य पक्षबाट हालसम्म वार्ताका लागि औपचारिक पहल गरिएको छैन ।

यता, केबलकार निर्माण कम्पनीका मालिक चन्द्र ढकाल भने ‘केबलकार बन्छ, एक-दुई जना मान्छे मर्छ, तर त्यसले केही हुन्न, हामी बनाइछाड्छौं’ भन्दै हिँड्ने गरेको आफूहरूले सुनेको येक्तेनले बताए ।

उनले भने, ‘अहिले उहाँहरूले त्यसकै परिणाम निकाल्न खोज्दै हुनुहुन्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्