जहाँ परम्परा धान्न कन्या-कन्याबिचमै विवाह हुन्छ

पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको नाच्न जान्ने हुनुपर्छ

आफ्नो गाउँ समाज अनुसार आ-आफ्नै भेषभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसै मध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला ।

परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ- जहाँ कन्या-कन्याबिच विवाह हुन्छ तर त्यो नक्कली हो ।

परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन् ।

हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या-कन्याबिच विवाह हुने परम्परा छ । यसपटक पनि दुई गाउँका किशोरीका बिचमा विवाह सम्पन्न भयो ।

साँख गाउँको बिचमा दह छ । यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ ।

यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बिचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन छ ।

यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी बताउँछन् ।

हरेक वर्ष नाटकीय विवाह नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास  छ ।

याे वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ । अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो ।

यो क्रम हरेक वर्ष आलोपालो गरिन्छ ।

किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा छ ।

यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ ।

अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या-कन्याबिच विवाह सम्पन्न गरेका थिए ।

विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रुपमा सजिएका किशोरीहरुले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रुपमा यो नाच उनै पापिनीहरूले नाच्छन् ।

लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो ।

साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ ।

हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन् ।

हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ ।

पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ । यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ ।

“गाउँको चालचलन धान्ने कन्या पापिनी हुनुपरेको छ, यो उहिलेकै चलन हो,” स्थानीय अगुवा पूर्णबहादुर बुढाले भने ।

‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ ।

माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आएका छन् ।

हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन् ।

आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताए । हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्