प्रतिष्ठानको बजेट ५० करोड पुर्‍याउन सरकारसँग माग

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिको उत्थान र विकासका लागि प्रतिष्ठानले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने भन्दै प्रतिष्ठानको बजेट वृद्धि गरी ५० करोड पुर्‍याउन सरकारसँग माग गरेका छन् ।

प्रतिष्ठानको २४औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त माग गरेका हुन् ।

उनले आदिवासी जनजाति आयोग र प्रतिष्ठानको भूमिकाबारे केही भ्रम रहेको उल्लेख गर्दै यी दुई संस्थाका कार्यक्षेत्र फरक भएकाले प्रतिष्ठानको औचित्यमाथि प्रश्न उठाउन नहुने बताए ।

शेर्पाले प्रतिष्ठानलाई व्यवस्थित तथा स्रोतसाधन सम्पन्न बनाई आदिवासी जनजातिको समग्र उत्थान र विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

संविधान संशोधनको सन्दर्भ उठिरहेका बेला आदिवासी जनजातिको अधिकार कटौती गर्ने षड्यन्त्र हुन सक्ने चेतावनी दिँदै उनले सचेत रहनुपर्ने बताए ।

कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको अध्यक्षतामा तथा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिष्ठानका सदस्यसचिव कमलप्रसाद राजवंशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सांसद एवं नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री पद्मा अर्याल, सांसद तथा पूर्वमन्त्री सीता गुरुङ, राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन (मस्यौदा विज्ञ कार्यदल) का संयोजक स्व. प्रा. डा. सन्तबहादुर गुरुङ, सदस्यहरू टेकनारायण राजवंशी, डा. कृष्ण भट्टचन, गंगादत्त चौधरीलगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्