नो केबलकार आन्दोलन नयाँ चरणमा, फेरि अनिश्चितकालीन बन्द

सार्थक वार्ताको पक्षमा छौं

मुक्कुमलुङमा नो केबलकार आन्दोलनको अर्को चरणको कार्यक्रम सार्वजनिक गरिएको छ ।

जसमा काठमाडौं, मधेस, र ताप्लेजुङमा जनप्रदर्शन, अनशन, आमसभा गर्नेदेखि अनिश्चितकालीन यातायात बन्दसम्मका कार्यक्रम तय राखिएको छ ।

मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर-दलीय संघर्ष समितिले सोमबार नयाँ चरणको आन्दोलनको घोषणा गरेको हो ।

वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै समितिले आगामी चैत २ गतेदेखि २५ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हाे ।

चैत २५ गतेदेखि पुनः अनिश्चितकालीन यातायात बन्द गर्ने, र त्यस्तै परिस्थिति सिर्जना भए सोअघि नै अनिश्चितकालीन यातायात बन्द गरिने छ ।

आन्दोलनका कार्यक्रमः

मुक्कुमलुङ संरक्षणका लागि आन्दोलन सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि राज्यले जनसमुदायको आवाज नसुनेको, बरु उल्टै केबलकार निर्माण कार्यको गति तीव्र बनाएको समितिले जनाएको छ ।

आन्दोलनलाई दबाउनका लागि सो क्षेत्रमा गत कात्तिक २३ गते खुकुरी काण्ड, गत माघ १२ गते गोली काण्ड, गत फागुन ९ र १० गते पत्रकार कुटपिट र अपरहण काण्ड र गत फागुन १० गते फुङलिङमा मानवअधिकार हनन् काण्ड भए पनि समिति वार्ताको विरोधी नभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिले उल्लेख गरेको छ, ‘हामी सार्थक वार्ताको पक्षमा छौं, हामी वार्तामा बस्न तयार छौं ।’

गत माघ २२ गते सरकार र आन्दोलनकारीको बिचमा भएको सहमतिलाई राज्य पक्षले पालना नगरेको समितिले जनाएको छ ।

सरकारले केबलकार निर्माण कार्य स्थगन नगरेको, सशस्त्र र जनपद प्रहरीहरुलाई क्याम्पबाट फिर्ता नगरिएको, घटनामा संलग्न भिजिलान्ते र आन्दोलनकारीहरूमाथि गोली हान्ने प्रहरीहरूलाई कारबाही नगरिएको समितिले उल्लेख गरेको छ ।

‘वार्ताको वातावरण नै बन्न सकेको छैन, त्यसैले हामीले आन्दोलन गर्नुको विकल्प भएन,’ प्रेस विज्ञप्तिमार्फत भनिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्