ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा केबलकार निर्माण कार्य जबरजस्ती अघि बढाए जस्तोसुकै प्रतिवाद गर्ने आन्दोलनरत पक्षले चेतावनी दिएको छ ।
मुक्कुमलुङ ताङ्सेःप् चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मंगलबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ हिममा पत्रकार सम्मेलन गरी मुक्कुमलुङमा केबलकार निर्माण कार्य अघि बढाए जस्तोसुकै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका हुन् ।
गत वैशाख ३१ गते सर्वोच्च अदालतले त्यसअघिको अर्थात् गत चैत १३ गतेको अन्तरिम आदेश (केबलकार निर्माण कार्य यथास्थितिमा राख्नू भन्ने अन्तरिम आदेश) लाई निरन्तरता नदिने आदेश दिएपछि हाल केबलकार निर्माण कम्पनीले फेरि काम अघि बढाउने तयारी गरिरहेकाे छ ।
आन्दोलनरत पक्षले गत वैशाख ३१ गतेको सर्वोच्च अदालतको आदेशलाई केबलकार निर्माणको बाटो खुलेको भनेर गलत तरिकाले प्रचार गरिएको प्रसंग पनि प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
केबलकार निर्माणको बाटो बन्द नै रहेको उनीहरूको दाबी छ ।
आन्दोलनरत पक्षले मुक्कुमलुङ संरक्षणका लागि आगामी जेठ ३१ र असार १ गते वृक्षारोपण–२ कार्यक्रम गर्ने, इम्बिरी याङधाङवा (तमोर खोला) मुन्धुमीस्थल भएकोले त्यहाँ बन्न लागेका हाइड्रोपावर परियोजनाहरूले पार्ने प्रभावबारे स्थलगत अध्ययन गरी कार्यक्रम अघि बढाउने र मुक्कुमलुङसहितका विभिन्न विषयमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय निकायहरूमा थप जानकारीसहितका कदमहरू चाल्ने र मुक्कुमलुङ संरक्षणमा विगतमा निर्णय भएका कार्यक्रमसहित धर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।



