धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ सालमा हुने स्थानीय तथा संसदीय निर्वाचनमा सबै क्षेत्रहरूबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हाल नयाँ राजनीतिक पार्टी गठनको तयारीमा रहेका साम्पाङले मंगलबार आफ्नाे फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने छौं ! दाग नलागेका, इमान्दार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन् !’

साम्पाङ २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुँदै उपमहानगर प्रमुख बनेका हुन् ।

उनी देशकै चर्चित तथा लोकप्रिय जनप्रतिनिधि पनि हुन् ।

प्रकृति, संस्कृति र प्रविधिलाई सन्तुलित बनाउँदै हरेक व्यक्तिकाे श्रमबाट विकास गर्नुपर्ने उनको धारणा छ ।

नेपाल लगायत विश्वका विभिन्न देशहरूमा जलवायु परिवर्तनकाे गम्भीर नकारात्मक प्रभाव बढिरहेको बेला मेयर साम्पाङले प्रकृति तथा जलाधार क्षेत्रहरू संरक्षित हुने गरी विकास निर्माण गरिनुपर्नेमा जोड दिँदै आएका छन् ।

आफू देशकाे सर्वोच्च स्थानमा पुगे सबै भ्रष्टाचारीहरूलाई तह लगाउने बताएका साम्पाङले पछिल्लो समय राजनीतिक अभियान केन्द्रित अभिव्यक्तिहरू दिन थालेका छन् ।

उनले आगामी निर्वाचनमा भ्रष्टाचार र ठुला गफमा मात्रै लिप्त रहेका पुराना दलहरूलाई ठुलो धक्का दिनुपर्ने बताएका छन् ।