जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले ३१औं विश्व आदिवासी दिवसको शुभकामना दिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सिर्जनात्मक र सकारात्मक प्रयोगका सम्बन्धमा आदिवासी जनजातिहरू सचेत हुनुपर्ने बताएका छन्।

अध्यक्ष राईले हाल एआईको प्रयोग र प्रभाव व्यापक भइरहेको बेला आदिवासी जनजातिहरूको ज्ञान र सिपको संरक्षण, सम्बर्द्धन र विकासमा अवसर र चुनौती दुवै देखा परेको उल्लेख गरेका छन्।

‘यस वर्ष २०२५ मा Indigenous Peoples and AI: Defending Rights, Shaping Future भन्ने नाराका साथ विश्वभरका आदिवासी जनजातिहरूले ३१औं विश्व आदिवासी दिवस हर्षोल्लासका साथ मनाइरहेका छन्,’ अध्यक्ष राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र प्रभाव व्यापक भइरहेको सन्दर्भमा आदिवासी जनजातिहरूको ज्ञान, सिपको संरक्षण, सम्बर्द्धन र विकासका लागि पनि अवसर र चुनौतीहरू देखा परेका छन्। एआईको सिर्जनात्मक र सकारात्मक प्रयोगका लागि आदिवासी जनजातिहरू सचेत रहनुपर्छ।’

उनले नेपालका आदिवासीहरूले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप संघर्ष गर्नुपर्ने उल्लेख गरेका छन्।

राईले आदिवासीहरूको थप अधिकार प्राप्तिका लागि ३१औं विश्व आदिवासी दिवसले प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन्।

नेपालमा यस वर्ष नेपाल आदिवासी जनजाति महासंघले ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारासहित ३१औं विश्व आदिवासी दिवस मनाउँदैछ।

विहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भई सांस्कृतिक झाँकीसहितको र्‍यालीले परिक्रमा गर्ने र राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम आयोजना गरिनेछ।