सुज अभियानबारे यस्ता छन् बस्नेतका सुझाव

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको पहिलो बैठक पार्टी स्थापनाको १५ महिनापछि आगामी भाद्र १ र २ गते काठमाडौँमा हुँदैछ ।

मुख्यतया भाद्र महिनादेखि चार महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान सञ्चालनको विषयमा बैठक केन्द्रित हुने देखिन्छ । त्यसका अलावा पनि एजेण्डा होलान् नै । संगठन निर्माण, संगठन समायोजन, अन्तरक्रिया, जनसभा र प्रशिक्षणका कार्यक्रम गर्ने काम नै सुज अभियान हो । खासगरी अभियानपूर्व हामीले निम्न कुराहरुमाथि ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

१. कोभिड–१९ को खोप लिएका र नलिएका अभियन्ताहरुको आँकडा तयार पार्ने । कम्तीमा अभियन्ताहरुलाई खोपको मात्रा पुरा गर्ने गरी समयावधि निर्धारण गर्ने । आवश्यक परे पार्टीले उपयुक्त पहल कदमी लिने । तत्पश्चात मात्र अभियानको औपचारिक थालनी गर्ने काम गर्नुपर्दथ्यो ।

२. हामीले विगतमा यस्तै खाले अभियान चलाइसकेका छौँ । नाम फरक दिएका थियौँ । ती अभियानको अनुभवबाट हामीले अब शिक्षा लिनुपर्दछ । प्रायः अभियानले दुईवटा कुरा देखेको पाइन्छ । एउटा गाउँमा संगठन छैन । अर्को नेताहरु सहरमा छन् । यो सही हो तर यो अभियानले मूर्तरुपमा अभियन्ता र संगठनको वास्तविक आँकडा प्रस्तुत गरेर त्यसले लिएको न्युनतम् लक्ष्यसमेत निर्धारण गरेर अभियान थालेको भए सायद अभियान अलि बढी प्रभावकारी हुने थियो कि ।

३. संगठन नभएको ठाउँमा संगठन निर्माणको चरण, संगठन भएको ठाउँमा संगठन समायोजन र परिचालनको चरण, जनसभा, अन्तरक्रिया तथा प्रशिक्षण लगायतका कार्यका लागि चरणबद्ध अभियान चल्नुपर्छ । पार्टी समिति नै नभएको ठाउँमा जनसभा हुने, संगठन समायोजन नगरी प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम गर्नेजस्ता गतिविधिहरुलाई व्यवस्थित गरिनुपर्दछ ।

४. हाम्रो जस्तो निर्माणाधीन पार्टीले आवधिक अभियान चलाएर पार्टी बन्दैन । त्यसका लागि दिर्घकालीन अभियान चलाइनुपर्दछ । अभियान मूलतः रचनात्मक र सिर्जनात्मक हुनुपर्दछ ।

५. हरेक पार्टी समितिमा वाद, प्रतिवाद र संवाद भइरहनुपर्दछ । तर त्यो वाद, प्रतिवाद र संवाद तल्लो कमिटिमा गुट उपगुट आपसमै वार कि पारको रुपमा रुपान्तरण हुने कार्यलार्ई नेताहरुले अबिलम्ब निरुत्साहित गर्नुपर्दछ ।

(पूर्ण बस्नेत जसपा नेपालका केन्द्रीय सदस्य हुन् ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्