जनता समाजवादी पार्टी, नेपालले बुधबार (भदौ ९) देखि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
जसपाको गत भदौ १ र २ गते काठमाडौँमा सम्पन्न प्रथम केन्द्रीय समितिको बैठकले संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) को उद्घाटन गर्दै भदौ ९ देखि १७ गतेसम्म विभिन्न प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
जस अनुसार बुधबार प्रदेश नं १ को विराटनगर र बागमती प्रदेशको काठमाडौँमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
विराटनगरमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य महेन्द्र राय यादव र सुशीला श्रेष्ठले सम्बोधन गर्नेछन् ।
काठमाडौँमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमीले सम्बोधन गर्नेछन् ।
प्रदेश नं १ का नेता तथा कार्यकर्ताहरु विराटनगर केन्द्रित भएका छन् भने बागमती प्रदेशका कार्यकर्ताहरु काठमाडौँमा भेला भएका छन् ।
यदपि, काठमाडौँको कार्यक्रममा काठमाडौँमै बसोबास गरिरहेका देशभरकै नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।
जसपाले भदौ ११ गते प्रदेश नं २ को जनकपुरमा र सूदुरपश्चिम प्रदेशको धनगढीमा, भदौ १३ गते लुम्बिनी प्रदेशको भैरहवामा, भदौ १५ गते गण्डकी प्रदेशको पोखरामा र भदौ १७ गते कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
जसपाले भदौ १ गते नै चार महिने सुज अभियानको पनि उद्घाटन गरेको छ ।
पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतो बाहिरिनुका साथै देश निर्वाचनको सम्मुखतिर जाँदै गर्दा जसपाले सुज अभियान अघि सारेको हो ।



