१. बिरामी बढ्याे
दिल्लीकाे राजीव गान्धी क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र (Rajiv Gandhi Cancer Hospital and Research Center) मा ओछ्यान परेको बेलामा समेत हाम्रो बिचमा मेसेन्जरमार्फत नियमित कुराकानी भइरहन्थ्यो । फेसबुकमा त उहाँ छाएकै अवस्था थियो ।
ध्यानजी क्यान्सरलाई जित्न सक्ने मनोबलले भरिपूर्ण हुनुहुन्थ्यो । बिरामी भेट्न घरमा जाँदा हसिलो र फुर्तिलो व्यवहारले रोगसँग लडिरहेको मानिस भन्ने मनको कुनै कुनामा पनि लागेन ।
दिल्लीबाट घर आएको बेला प्रत्येक पटक म भेट्न गएँ । पछिल्लो पटक अनुहारको ज्योति खस्केको महसुस गरेँ । तर मुस्कुराहट उस्तै निश्चिन्त उस्तै । चिन्ता थियो त केवल पार्टीको र आन्दोलनको ।
फेरि दिल्ली जानुपर्ने खबर गर्नुभएको थियो । म धरानमा थिएँ । एकदिन अचानक फेसबुक चलाउन नसक्ने बारेमा लेख्नुभयो र देखा पर्न छोड्नुभयो । कुरा बुझ्दा आईसियुमा राख्नुपर्ने अवस्था भएछ । अब सामाजिक सञ्जालमा विचार आदन–प्रदान बन्द भयो ।
२. लुकामारी बीचमा
ध्यानबहादुर राई खोटाङ जिल्लाको गाउँमा जन्मी, हुर्की, पढी अगाडि बढेको एउटा प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । लुकामारी खेलजस्तै गरेर उहाँसँग मेरो भेट भएको थियो ।
जतिखेर म काठमाडौंमा पार्टी काममा थिएँ । त्यसबेला उहाँ गाउँमा पढ्दैहुनुहुन्थ्यो । जतिखेर उहाँ काठमाडौंमा पढ्न आउनुभयो त्यसबेला काठमाडौंबाट पार्टी काम गर्न म गाउँतिर लागेँ ।
२०४६ सालको आन्दोलनपछि एक वर्ष खुला प्रचार–प्रसारमा जुटियो । तत्कालीन कोसी अञ्चलमा पार्टीको इन्चार्जको रुपमा म कार्यरत थिएँ । २०४८ सालको चुनावमा म खोटाङ गएँ ।
२०४९ सालको चुनावमा उहाँ धरान नगरपालिकामा मेयर चुनिनुभयो । यही लुकामारीका बीच ध्यानजीसँग बेलाबेलामा भेट हुन्थ्यो ।
उहाँ धरानको इन्जिनियरिङ क्याम्पसमा अध्यापन कार्यमा रहँदा प्राध्यापकहरुको आवासमा रहनुहुन्थ्यो । कहिलेकहिले मेरो सुटुक्कै बस्ने ठाउँ थियो त्यो आवास ।
बिहान ४ बजे उठेर विराटनगरमा स्नातकोत्तरको पढाइ भ्याएर धरानमा जागिर गर्न उहाँ आइपुग्नुहुन्थ्यो । यसैबाट कति मेहनती हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ ।
तर, म खोटाङ आएपछि मेयरका रुपमा उहाँको लोकप्रियता, काम र नाम सुन्ने मात्र अवसर प्राप्त हुन्थ्यो ।
३. उम्मेदवारी र चुनाैतीहरु
राजनीतिका उतारचढावहरु सँगसँगै २०५४ सालमा महाकाली सन्धिका सवालमा भएकाे मतमतान्तरले पार्टी विभाजन भयाे । हामी एकैठाउँमा रह्याै ।
यसपछि हाम्रो बिचमा अन्तरंग मित्रता पनि भयो । हाम्रो बिचमा मनका कुरा खोल्ने र दुःखसुख बाँड्ने अवस्था बन्यो । विभाजनपछि भएभरको तागत लगाएर पार्टी निर्माणमा लागियो ।
२०५६ सालमा चुनाव आयो, धरानबाट ध्यानजीलाई लड्न भनियो । उहाँ पद र अवसर लिन होडबाजी नगर्ने मानिसमध्येमा पर्नुहुन्थ्यो । पार्टीको निर्णय भएपछि मान्नुभयो ।
म उहाँको चुनावी सभामा भोट माग्न गएको थिएँ । म उदयपुरमा उम्मेदवार भएको हुँदा वारीपारि सहयोग गर्न सजिलो थियो ।
‘कस्तो छ ?’ भनेर मैले औपचारिकता निभाएँ । बल गरेर ‘यस्तै छ’ भन्नुभयो । नर्सहरुले हामीलाई कुरा गर्न रोके ।
तर चुनावको परिणाम नकारात्मक रह्यो । खर्चिलो चुनावले ऋणभार बढाएको कुरा उहाँले बताउनुभयो । ऋणपान तिर्न घरघडेरी समेत बेच्नु परेको कुरा पनि उहाँले सुनाउनुभएको थियो ।
त्यसबेला करोडको ऋण भनेको साधारण मानिसले बोक्न सक्ने भारी थिएन । तर, तीक्ष्ण दिमाग र रचनात्मक सोच भएका, उपाय खोज्न सक्षम र हिम्मत भएका मानिसलाई त्यो त्यति गाह्रो काम पनि होइन भन्ने ध्यानजीले प्रमाणित गरिदिनुभयो ।
केही वर्षको मेहनतले उहाँ ऋणमुक्त हुनुभयो । उहाँ काठमाडौंमा निजी गाडी चढेर हिड्न सक्ने हैसियतमा पुग्नुभयो ।
अब उहाँको लागि करोडको कारोबार दैनदिनको व्यवहारिक विषय बन्यो । उहाँ काठमाडौंमा नै बस्न थाल्नुभयो भने धरानको बसोबासलाई पुनःस्थापित पनि गर्नुभयो ।
४. सँगै हङकङमा
२०६५/६६ सालतिर नेपालमा शान्ति सम्झौता भएर संविधानसभा बनिसकेको थियो । २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा हुनुका साथै तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी त्याग्नुपर्ने अवस्था बनेको थियो । सबै उत्साह र उमंगमा थिए ।
संविधानमा के कस्ता व्यवस्थाहरु गर्ने भनेर गम्भीर र व्यापक छलफलहरु चलिरहेका थिए । देशमा जस्तै विदेशमा पनि चाख र चासो थियो ।
त्यसैबेला संविधानसभाको प्रगतिका बारेमा बुझ्न र आफ्नाे सुझाव राख्न हङकङका साथीहरुले निम्तो दिनुभयो । म सुशीलाजी र ध्यानजी हङकङ गयौं ।
ओम सम्बाहाङ्फे (पाँचथर) को नेतृत्वमा हङकङको पार्टी सक्रिय थियो । ध्यानजी, किसान राई (धरान)कोमा र मलाई र सुशीलाजीलाई शान्तमान राई र तीर्थमाया राई (खोटाङ)का भाइबैनीकोमा बस्ने व्यवस्था मिलाइएको थियो ।
सम्पूर्ण कार्यक्रमहरु अन्तरक्रिया, भेटघाट तथा भ्रमणमा हामी सँगै संलग्न रह्यौं । सेन्जेनका लागि पनि भिसा लिएर गएकोले एक दिन त्यहाँ घुम्न गइयो ।
चीनको विशेष आर्थिक क्षेत्र सेन्जेन चिनियाँ विकासको नमूना हेर्ने आँखीझ्याल रहेछ । भ्रमणको मुख्य कार्यक्रम सकिएर घुमघाम चलिरहेको बेला नेपाल तुरुन्तै फर्किनुपर्ने कामबारे नेपालबाट सूचना आएपछि उडान अगाडि सारेर म नेपाल फर्किए ।
उहाँसँगको यो भ्रमण राजनीतिक अन्तरवस्तुको हिसाबले निकै नै महत्वपूर्ण रहेको थियो ।
५. धरानमा म
नेपाली राजनीतिमा फेरि औंसी–पूर्णिमाहरु आए । मैले नै नेतृत्व गरेर केही नेताहरुसँग संघीय समाजवादी पार्टी बनाउने काम भयो । उहाँ पनि यसमा सामेल हुनुभयो र फेरि नयाँ शक्ति, नयाँ पार्टी निर्माणको काममा बेस्सरी खटिनुभयो ।
२०७० सालको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट संविधानसभाको चुनाव लड्नुभयो । पार्टी एकीकरणपछि संघीय समाजवादी फोरम नेपाल बन्दा त्यसमा उहाँले संगठन विभागको सचिवको जिम्मेवारी लिनुभयो र उत्साहपूर्वक काम गर्नुभयो ।
काममा छरितो खुलस्त, पारदर्शी, षडयन्त्र नरुचाउने, तुरुन्त राय दिने वा निर्णयमा ढिलासुस्ती नगर्ने, गल्ती भएमा सहज रुपमै महसुस गर्ने र साथीहरुको गल्ती औल्याउन पनि त्यतिकै सचेत र सबैसँग मिलेर व्यवहार गर्न सक्ने गुणहरु उहाँमा निखर रुपमा थिए ।
२०७४ सालको मंसिर महिनामा सम्पन्न संघीय संसदको निर्वाचनमा पार्टीले मलाई सुनसरी क्षेत्र नं १ मा उम्मेदवार बनायो । यो निर्वाचन क्षेत्रमा मलाई उम्मेदवार बनाउन जोड गर्ने मान्छेहरुमध्येको एकजना उहाँ पनि हुनुहुन्थ्यो ।
मलाई नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनाइएको थियो । हाम्रो तर्फबाट चुनावी अभियान सञ्चालन गर्ने जिम्मा ध्यानजीलाई सुम्पिएका थियौं ।
उहाँको कार्यदक्षता र शीघ्र निर्णय गर्ने क्षमताको उच्चतम प्रदर्शन उहाँले यस चुनावमा गर्नुभयो । चुनावपछि तुरुन्तै समिक्षा गरेर उहाँले मूल्यांकन प्रतिवेदन तयार गर्नुभयो । उहाँले आफै तयार गरेको समिक्षा अहिले पनि मसँग सुरक्षित छ ।
उहाँले धरान नगर पार्टी कार्यालय निर्माण गर्न जग्गा बैना गर्नुभएको रहेछ । त्यसको लागि देश विदेशबाट सहयोग जुटाइरहनुभएको थियो ।
धरान गएको बेला मलाई पनि उहाँले सहयोग दिन भन्नुभयो, ‘मैले एक लाख दिएको छु तपाईले पनि दिनुपर्यो ।’ मैले भने, ‘म केही सहयोग पक्कै गर्छु तर फेसबुक र सामाजिक सञ्जालहरुमा प्रचार नगर्ने सर्तमा ।’
उहाँले ‘हुन्छ’ भन्नुभयो र त्यसको पूर्णरुपमा पालना भयो ।
छिनोफानो गरेर जग्गा किनेपछि भवन निर्माणमा उहाँको ध्यान थियो । कतिसम्म भने दिल्लीमा आईसियुमा जानुअघिसम्म पनि जग्गा तारघेरा गर्न समितिका साथीहरुलाई घचघच्याइदिन मलाई अनुरोध गर्नुभएको थियो ।
६. मनकारी मित्र
एकपटक पूर्वसांसद ‘हरिनाथ बास्तोला दाइलाई लिएर म आउँदैछु निवासमा’ भनेर फोन गर्नुभयो । मैले ‘हुन्छ’ भनेँ । तर केका लागि हो भनेर मलाई भन्नुभएन ।
हरिनाथ बास्तोला मैले आदर गर्ने नाम हो । भेट्न पाइने भयो भनेर खुुसी भए । दुवैजना आइपुग्नुभयो । चियाको साथमा कुरा सुरु भयो ।
नयाँ पुराना सुखदुखका कुरापछि हरिनाथ दाइले चताराधाममा एउटा १०८ तलाको स्तम्भ बनाउन लागेको र त्यसका लागि सहयोग जुटाइरहेको कुरा राख्नुभयो ।
ध्यानजीले ‘मैले १० हजार दिए तपाईले पनि त्यति त दिनुपर्यो नि’ भन्नुभयो । मैले मेरो थैली हेरेँ, जम्मा त्यति नै रहेछ । ‘हुन्छ’ भनेँ र हरिनाथ दाइलाई जिम्मा लगाएँ ।
मलाई आनन्द पनि लाग्यो । कोही त छ जसले मलाई साधिकार माग राख्न सक्छ । फेरि हरिनाथ बास्तोला जस्तै आदरणीय र सत्पात्रलाई पुनित कार्यका लागि सहयोग दिने मौका पाउनु पनि एउटा सुअवसर नै थियो ।
यसप्रकार सामाजिक काममा र साथीभाइलाई मुठी खोलेर सहयोग गर्न मनकारी बानी थियो ध्यानजीको । कहाँबाट ल्याउने ? के गरी जुटाउने ? भने मुठी नकस्ने मानिस हुनुहुन्थ्यो ध्यानबहादुरजी ।
घरमा कोही पाहुना आए खुला ह्रदयले स्वागत र सत्कार गर्ने । कोपिलाजी उस्तै फरासिली र मिजासिली जोडी हुनुहुन्थ्यो । त्यसै भएर धेरै साथीहरुको मन रमाउँथ्यो ध्यानजीकोमा खान पिउन ।
मलाई थाहा भएसम्म उहाँकोमा धेरै जमघट भइरहन्थ्यो । पार्टी र विचारको छेकबार थिएन भेला जम्मा हुनलाई । सबै रमाउँथे । उहाँलाई सबैले माया गर्थे र सम्मान गर्थे ।
तर त्यही व्यक्तिलाई क्यान्सरजस्तो इलाज गर्न गाह्रो पर्ने रोगले छोयो । थाहा पाउदा म कति स्तब्ध र हतप्रभ भए भनेर शब्दमा व्यक्त गर्न सक्दिनँ ।
७. बचाउन गाह्रो छ
एकपटक भेट्न जाँदा मैले खर्चबर्चको अवस्थाबारे सोधेर सहयोग जुटाउने अनुमति मागेँ । उहाँले निषेध गर्दैै भन्नुभयो ‘अहिलेसम्म घर परिवारजनबाट नै काम चलिरहेको छ । सरकारले हामीलाई दिँदैन, दिइहाले पनि गुद्रुकको झोलमा जात फाल्ने जस्तै होला त्यसैले अहिलेलाई नगरौं ।’
त्यसपछि मैले कान्छा भाइ युवराजसँग कुरा गरेँ । उहाँले पनि ‘हामी मिलेर खर्च टारिरहेका छौं, दाजु त मान्नुहुन्न’ भन्नुभयो ।
युवराज भाइ उपचारमा खटिनुभएकोले मैले सोधेँ– ‘डाक्टरको के छ भनाइ ?’ ‘डाक्टरले गाह्रो छ’ भनेको कुरा सुनाउनुभयो । दुवैजना स्तब्ध भयौं ।
त्यसपछि धरानका रमेश खड्का र जीवन भट्टराईजीले ध्यानजीको सम्झनालाई चीरकालसम्म सजीव बनाउन वृत्तचित्र बनाउने कुरा गर्नुभयो । युवराज भाइले ‘ठीकै हुन्छ’ भनेपछि ध्यानजीसँग कुरा गर्न लगाएँ ।
भाइले र जीवनजीले कुरा गर्दा ‘म कहाँ वृत्तचित्र बनाउने स्तरको मानिस हुँ, यो केही गर्नुपर्दैन’ भन्नुभएछ ।
यो कुरा मलाई थाहा भएपछि प्रस्तावको पक्षमा कुरा गर्न गएँ । सुरुमा मान्नुभएन । तर मैले धेरै सन्दर्भहरु राखेपछि मान्नुभयो । प्राविधिक साथीहरुले छायांकनको काम पनि थाल्नुभयो ।
अन्ततः एकदिन उहाँलाई दिल्लीबाट काठमाडौं ल्याउने समय आयो । म धरानमा थिएँ । धरानमा साथीहरुले दिल्लीमा भेट्न जानुपर्ने कुरा राख्नुभएको थियो । मलाई पनि त्यो इच्छा जागेको थियो ।
तर, उहाँलाई पाटन अस्पतालमा ल्याइयो । पूर्वबाट म काठमाडौं फर्किएँ । सुशीलाजी र म दुवैजना पाटन अस्पताल गयौं । उहाँका शुभचिन्तकहरु साथीभाइहरुको आवतजावत चलि नै रहेको थियो ।
त्यस बिहान पनि हामी पुग्दा धरानबाट आउनुभएको बहिनी शिव नाना तथा ध्यानबहादुर राई सहयोग समिति संयोजक महेश श्रेष्ठ लगायतका मित्रहरु हुनुहुन्थ्यो ।
पालो कुरेर भेट्न पस्यौं । एउटा कर्मठ व्यक्तित्व सबैको माया र सम्मान अनि विश्वास जितेको जेतस्वी मानिस ओइलाएको फुलजस्तै मुखमण्डल लिएर ओछ्यानमा सुतिरहेछ ।
स्वास्थ्य विज्ञानका यन्त्रहरु र चालक नर्सहरु छेउमा छन् ।
‘कस्तो छ ?’ भनेर मैले औपचारिकता निभाएँ । बल गरेर ‘यस्तै छ’ भन्नुभयो । नर्सहरुले हामीलाई कुरा गर्न रोके । उहाँले हातको इसारा र अनुहारको भावले ‘ल के गरेको होला, बोल्न दिनुस्’ भन्ने संकेत गर्नुभयो ।
हात समाएर भावविभोर भइयो । त्यो अवस्था सहन नसकेर आँखामा मैले विदा मागे । उहाँको अनुहारमा उज्यालो र मुस्कान फेरि पनि अन्तिम पटक हेरेर निस्किएँ ।
भोलिपल्ट बिहान एउटा फोन आयो, ‘ध्यानजी रहनुभएन ।’
(यो सामग्री जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईकाे पुस्तक ‘शब्दाञ्जली’बाट लिइएको हो । धरानका पूर्वमेयर तथा सबैका प्रिय र प्रभावशाली नेता ध्यानबहादुर राईको आजकै दिन अर्थात २०७६ माघ ६ गते क्यान्सरका कारण असामयिक निधन भएको थियो । हामीले उहाँको हार्दिक सम्मान र सम्झनामा शब्दाञ्जलीबाट साभार गरी याे सामग्री प्रकाशन गरेका हौं ।)