ठेक्का लागेको दुई वर्षमा पनि सुरु भएन झोलुङ्गे पुल निर्माणको काम

ठेकदार भन्छन्– पुससम्म बनिसक्छ

खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नं ५ मात्तिम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ७ दोर्पा जोड्ने साप्सुखोलामा बन्दै गरेको झोलुङ्गे पुल दुई वर्षदेखि अलपत्र परेको छ ।

उक्त झोलुङ्गे पुल ९५ लाख रुपैयाँ (भ्याटबाहेक) मा रातमाटे मेत्रेदाेभानमा निर्माण गर्ने गरी नाइल कन्स्ट्रक्शन प्रा.लि.ले ठेक्का पाएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन (एसबिडी)ले २०७७ असार २८ गते सम्झौता गरी १३१ मिटर लम्बाई रहेकाे पुल निर्माणको काम नाइल कन्स्ट्रक्शनलाई दिएको थियो ।

१८ महिनाको सम्झौता अवधि गत वर्षको पुसमै सकिएको थियो ।

तर, पुल निर्माण कार्य भने अहिलेसम्म अघि बढेको छैन । ठेकदार कम्पनीले भने पेश्कीबापत बजेटको २० प्रतिशत रकम लगिसकेको छ ।

पुल निर्माणको लागि हालसम्म एकातर्फ थोरै फाउन्डेशन खन्नेबाहेक काम भएको छैन ।

‘सम्झौताअनुसार २०७८ साल पुसमै बनिसक्नुपर्ने पुल अहिलेसम्म बनेको छैन,’ साकेला गाउँपालिका वडा नं ५ का निवर्तमान वडासदस्य तथा नेकपा एमालेका नेता धनपाल किरातीले भने, ‘पुलको काम छिटो अघि बढाउनुपर्यो भनेर मैले पटक पटक ठेकदारलाई भनेँ, तर काम भएन ।’

साकेला गाउँपालिका र दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे बिचमा रहेकाे साप्सुखाेला । तर याे पुल निर्माण स्थलदेखि करिब ५०० मिटर तलकाे तस्बिर हाे ।

एसबिडीका इन्जिनियर श्रवण चौधरीले केही दिनअघि के कारणले काम नभएको भनी ठेकदारलाई कार्यालयमै बोलाएर स्पष्टीकरण सोधिएको बताए ।

नाइल कन्स्ट्रक्शनका ठेकदार बलराम श्रेष्ठले भने कोरोना महामारीका कारण काम गर्न नसकेको बताएका थिए ।

चौधरीकाअनुसार हाल श्रेष्ठले ठेक्काको म्याद थपका लागि निवेदन दिएका छन् ।

‘हामीले कोरोनाले गर्दा गत चैतसम्म समय दिएकै थियौं । फेरि पनि उसले म्याद थप मागेका छन्,’ चौधरीले भने, ‘हामीसँगको कमिटमेन्टमा चाहिँ अझै दसैंसम्म लाग्छ भन्दैथिए ।’

यता श्रेष्ठले भने आगामी पुस मसान्तसम्मका लागि म्याद थप भइसकेको दाबी गर्दै सो अवधिमा पुल निर्माण गरी हस्तान्तरण गरिसक्ने कुरामा ढुक्क हुन आग्रह गरे ।

उनले भने, ‘पुसमा काम सक्छौं, माघबाट मान्छे हिड्न सकिन्छ, यसमा कुनै शंका छैन ।’

उनले कोरोना महामारीका कारण पुलमा प्रयोग हुने लट्ठा र स्टिलका सामानहरु ल्याउन नसकिएको बताए ।

साल्पा अनलाइनकाे फाेन सम्पर्कमा उनले भने, ‘असार र साउनमा त काम गर्न सकिदैन, हामी भदौको पहिलो हप्ता नै आएर स्पिडमा काम गरेर पुससम्म सकेर जिम्मा लगाइसक्छौं ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्