सिकिक्मका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले छोराछोरीहरुका लागि सम्पति र अंशको सट्टा राम्रो शिक्षा दिनुपर्नेमा जोड दिएका छन् ।

शिक्षित र सक्षम व्यक्ति दुनियाँलाई जितेर बाच्न सक्ने भएकोले छोराछोरीहरुलाई सबभन्दा धेरै पढाउनुपर्ने उनको भनाइ छ ।

केही दिनअघि काठमाडौंमा आएका बेला चाम्लिङले भने, ‘छोरीलाई पिएचडी बनाइदियो भने या एउटा समक्षम छोरी बनाइदियो भने उसलाई कसैले दुनियाँमा हेप्न सक्दैन । ऊ दुनियाँलाई जितेर खान सक्ने जितेर बाच्न सक्छे ।’

उनले छोरीलाई पनि दाइजो दिने हो भने दाइजोको रुपमा शिक्षा दिनुपर्ने बताए । उनले छोराछोरीलाई शिक्षितका साथै असल र नैतिक बनाउनुपर्नेमा पनि जोड दिए ।

उनले संसारमा सफल मान्छेको विकल्प भए पनि असल मान्छेको विकल्प नरहेको बताए ।

हिटलर र मुसोलिनी पनि सफल भएको तर उनीहरु असल नभएको भन्दै चाम्लिङले भने, ‘सफल भए तर असल थिएनन् तिनीहरु । हिटलरको कारणले उसले सात करोड मान्छे मार्यो दोस्रो विश्वयुद्धमा, कन्सन्ट्रेसन क्याम्पमा लगेर कति मान्छे मार्यो तपाईहरुलाई थाहै छ ।’

सो क्रममा उनले प्रजातन्त्रमा सबैले समान अवसर पाउने भए पनि समान प्रतिफल नपाउने पनि बताए ।

उनले प्रजातन्त्रमा जसले सबभन्दा बढी जिम्मेवारी लिन्छ र योगदान गर्छ उही नै सबभन्दा बढी शक्तिशाली हुने बताए ।
सो क्रममा उनले नेपालमा पनि जैविक खेती सुरु गर्नु सुझाव दिए ।