प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै किरात राई यायोक्खाले आज इटहरीदेखि विराटनगरसम्म मोटरसाइकल र्याली गरेको छ ।
र्याली विराटनगर पुगेपछि यायोक्खा अध्यक्ष दिवस राईले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाए ।
प्रदेश १ नामकरणको छलफल तीव्र गतिमा चलिरहेको बेला यायोक्खाले किरात प्रदेश नाम राख्न दबाब दिन ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री राईले प्रदेश १ ले चाडै नाम पाउने बताए ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिएपछि बाहिर धर्ना तथा कोणसभा गरिएको थियो । जसमा किरात प्रदेशको नामकरण गर्न माग गर्दै नारा लगाइएको थियो ।
नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मुख्यमन्त्री राईले पटक पटक प्रदेशको नाम किरात हुनुपर्ने बताउँदै आएका छन् ।
यायोक्खाको टोलीसँग उनले आफ्नाे भावना यायोक्खाले बुझेको प्रतिक्रिया दिएका थिए ।
किरात प्रदेश नामकरण गर्न केवल नेकपा एमाले र नेपाली कांग्रेस मानिरहेका छैनन् ।
यायोक्खाले किरात प्रदेश नामकरण गर्न माग गर्दै यसअघि पनि मोटरसाइकल र्याली, धर्ना, मुख्यमन्त्री कार्यालय घेराउ, दलका नेताहरु ज्ञापनपत्र दिने लगायत कार्यक्रम गरेको थियो ।
यायाेक्खाले इतिहास, भूगाेल र सभ्यताकाे आधारमा प्रदेश १ काे नाम किरात राख्नुपर्ने माग गर्दै आएकाे छ ।






