धरान उपमहानगरपालिका वडा नं ११ को मंगलबारेचोकदेखि वडा नं २० विष्णुपादुकाको भन्ञ्याङचोकसम्मको ९ किलोमिटर सडक यसैवर्ष कालोपत्र हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री इश्तियाक राईले उक्त सडक कालोपत्रे गर्नका लागि ३३ करोड रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा सोमबार सत्ता गठबन्धनका स्थानीय नेताहरु मन्त्री राईलाई भेट्न सिंहदरबार पुगेका थिए ।
भेटका क्रममा उनीहरुले विष्णुपादुका सडक कालोपत्रे गर्न र सेउतीखोला र खांकरडाँडामा पक्की पुल बनाउन बजेटको व्यवस्था गरिदिन माग गरेका थिए ।
मन्त्री राईले आफ्नाे पार्टीका प्रभावशाली नेता अशोक राई नै अघि लागेर आएपछि सोका लागि योजना संशोधन गरेरै भए पनि बजेट दिने प्रतिबद्धता जनाएका हुन् ।
भेटमा धरान उपमहानगरका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, राजनीतिक दलीय संयन्त्रका संयोजक तथा कांग्रेस नेता किशोर राई, कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओवादी केन्द्रका धरान नगरइन्चार्ज चोत्लुङ, जसपा धरान नगरअध्यक्ष ताजुब लिम्बू, नेकपा एकीकृत समाजवादी धरान नगरअध्यक्ष रेवतीरमण राईलगायत नेताहरु थिए ।
उक्त टोलीले सोमबार नै वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पनि भेटेर जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भवन निर्माणका लागि तिनकुनेस्थित लाङ्घाली सामुदायिक वनको पाँच कट्ठा जग्गा उपलब्ध गराइदिन माग गरेका थिए ।
जसपाबाटै मन्त्री बनेका यादवले उक्त टोलीको माग ध्यानपूर्वक सुनेपछि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उक्त टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठसँग पनि भेटेर धरानको धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासमा बजेट माग गरेको थियो ।
टोलीमा कांग्रेस नेता तथा प्रदेश १ का पूर्वप्रमुख गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महतो, राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीकी नेतृ जयन्ती राई, जसपा केन्द्रीय सदस्य भीम राई, नेपाली कांग्रेस नेता गणेश परियार, कांग्रेस नेता प्रेम राई लगायत नेता पनि थिए ।
great . अब बिकासको लहर सुरुवात हुने देखियो। यो कार्यले पुर्णता पावस सुभकामना।।
ज स पा का नेपालका नेता वा मन्त्रीरूले अरु पार्टीको नेता भन्दा पृथक र भ्रष्टाचार रहित काम गरेको देख्न चाहान्छाै ,ज स पा समर्थक हाल साउदि अरब