काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु-याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् ।
महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो ।
तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम सहज नभएको’ जनाइएको छ ।
सत्तारूढ दलबाटै असहयोग भएपछि प्रमुख साहले आक्रोश व्यक्त गर्दै ‘राज्य संयन्त्र निरीह बनेको’ आरोप लगाएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै साहले ‘फोहोर व्यवस्थनमा सिंगो राज्य संरचना निरीह बनेको’ टिप्पणी गरेका हुन् ।
बन्चरेडाँडमा ५ अर्बभन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा समेत फोहोर लैजान ‘माथापच्ची’ गर्नुपरेकोमा उनले असन्तुष्टि र आक्रोश पोखेका छन् ।
‘२ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’ शाहले प्रश्न गरेका छन् । राजधानी डेली डटकमबाट