दाङ । भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ ।
सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही–५ महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरिँदै छ ।
भाषा आयोगका सदस्य अमर गिरीले कुसुन्डा भाषा संरक्षणका लागि समुदायस्तरबाट लाग्नुपर्ने बताए ।
लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि भाषा आयोगले कार्यक्रम ल्याएको उनले बताए । ‘भाषा कुनै जातिको मात्रै होइन सबैको साझा हो, एउटा भाषा जीवित राख्नमा सम्बन्धित समुदाय पनि जागरुक हुनुपर्छ’, उनले भने ।
भाषा आयोगका सदस्य अमृत योञ्जनले भाषाभित्र व्यापक ज्ञान हुन्छ, भाषा संस्कार र संकृतिसँग जोडिएको बताए । कुसुन्डा भाषा नेपालमा मात्रै बोलिन्छ । पाठ्य सामग्री तयार गरेर बालबालिकालाई लेख्न लगाउनुपर्नेमा जोड दिए ।
कुसुन्डा भाषा सिकाउनुको उद्देश्यमाथि प्रकाश पार्दै भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले कुसुन्डा भाषा लोपोन्मुख र सङ्कटोत्पन्न भाषा भएकाले ९० घण्टाको समय दिएर सिकाउने गरिएको बताए ।
उनले नेपालमा एक सय २३ भाषा बाेलिनेमध्ये कुसुन्डा भाषा पनि एक रहेको जानकारी दिए । यो भाषाको व्याकरण निर्माण गरेर पछिल्लो पुस्तालाई सिकाउनुपर्ने उनले बताए ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले भाषा संरक्षणमा नगरले सहयोग गर्न तयार गरेको धारणा व्यक्त गरे ।
शून्यमा झर्न लागेको कुसुन्डा भाषालाई पछिल्लो पुस्ताले घरपरिवार र साथीका बीचमा बढी प्रयोग गरेमा भाषा जीवित हुने घिमिरेले जानकारी दिए ।
कुसुन्डा भाषाका अभियन्ता एवं पुस्तक लेखक उदयराज आलेले शून्यबाट सुरु गरिएको भाषा अहिले तेस्रो चरणको सिकाइ सकेर चौथो चरणको सिकाइमा प्रवेश गर्न सकेकामा खुसी व्यक्त गरे ।
महेन्द्र माविमा धर्नामा १२ र घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीमा १२ गरी २४ जनाले यो भाषा सिकिरहेको उनले बताए ।
पहिलो चरणमा औपचारिकरूपमा बोल्न सिकाइएको, दास्रो चरणमा लेख्न र पढ्न सिकाइएको र तेस्रो चरणमा व्याकरण सिकाइएको आलेले बताए। चौथो चरणमा भाषा जोगाउनलाई बोल्न सिकाउनुपर्छ भन्ने मान्यताले सिकाइ अगाडि बढाउने उनले बताए ।
नेपाल कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले अन्य जिल्लामा यो भाषा बोल्ने व्यक्ति नभएको बताए ।
दाङमा एक जनामात्रै वक्ता रहेको र पछिल्लो पुस्ताले यो भाषालाई जोगाइराख्नका लागि सिकाइले उपलब्धि भएको बताए । उनले कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा एक सय ६१ जनसंख्या रहेको जानकारी दिए ।
कुसुन्डा भाषाका एकमात्रै वक्ता कमलासेन कुसुन्डाले ज्ञानीमायाको मृत्युपछि आफू एक्लै भएको बताइन् ।
भाषा आयोगले संरक्षण गरेर पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।