स्वदेशमै उपचार गर्ने शिक्षामन्त्री

टिचिङ अस्पतालमा जटिल शल्यक्रिया

नेपालमै उपचार सम्भव भए पनि नेताहरू विदेश जान्छन् भनेर आलोचना गरिन्छ । हुन पनि राज्यका उच्च ओहदामा बसेकाहरू, मन्त्री–प्रधानमन्त्रीहरू विदेशमा उपचार गराउने गलत नजिर बनेको छ ।

तर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले जटिल र चुनौतीपूर्ण शल्यक्रिया पनि स्वदेशमै गराएका छन् ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत मंसिर ४ गते डा. रवीन्द्रभक्त प्रधानाङ्ग नेतृत्वको टिमले साढे चार घण्टा लगाएर उनको देब्रे कानको शल्यक्रिया गरेको हो ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका उनको १५ वर्षअघि पनि काठमाडौंको वीर अस्पतालमा डा. माधव दाहाल नेतृत्वको टिमले सोही कानको शल्यक्रिया गरेको थियो ।

पहिल्यै शल्यक्रिया गरिसकेकोले पुनः शल्यक्रिया गर्ने काम आफूहरूका लागि चुनौतीपूर्ण रहेको डा. प्रधानाङ्गको भनाइ थियो ।

देशकै डाक्टरहरुमाथि विश्वास

शिक्षामन्त्री राईकी श्रीमती समेत रहेकी प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. प्रधानाङ्गसँग भेट भएपछि र उनले स्वदेशमै उपचार सम्भव छ भन्ने विश्वास दिलाएपछि आफूहरू शिक्षण अस्पतालमै उपचार गर्ने निर्णयमा पुगेको बताइन् ।

‘डा. रवीन्द्रभक्त प्रधानाङ्गलाई देखाइसकेपछि उहाँले एकदम उत्साहित भएर यो अपरेशन यही गर्न सकिन्छ र कान सुन्ने बनाउन सकिन्छ भन्ने विश्वास दिनुभो,’ जसपा नेपालकी कार्यकारिणी समिति सदस्य समेत रहेकी श्रेष्ठले भनिन्, ‘हामीले यहाँका डाक्टरहरूलाई विश्वास गरेर, उहाँहरूको जुन क्षमता छ, त्यसलाई सम्मान गरेर यही अपरेशन गर्ने निर्णय गर्‍याैं ।’

पहिचान आन्दोलनका शिखर नेता रहेका मन्त्री राईले पछिल्लो समय क्रमशः कान सुन्न छोड्दै गएपछि उपचार गर्ने क्रममा डा. प्रधानाङ्गसँग उनको भेट भएको थियो ।

सहायक प्राध्यापक समेत रहेका डा. प्रधानाङ्गले मन्त्री राईको कानको उपचार आफूहरूले नै गर्न सक्ने विश्वास दिलाएका थिए ।

नेता श्रेष्ठले हाल नेपालका सामुदायिक अस्पतालहरूमा आवश्यक इक्युपमेन्ट र विज्ञहरू पनि उपलब्ध भएको तथा शिक्षण अस्पतालले दक्षिण एसियाकै राम्रो अस्पतालको परिचय बनाएकोले पनि स्वदेशमै शल्यक्रिया गर्ने निर्णयमा पुगेको बताइन् ।

सरकारको उच्च ओहदामा रहेका पदाधिकारीहरू, मन्त्री तथा प्रधानमन्त्री सबैले नेपालमै उपचार गर्ने हो भने त्यसले सामुदायिक अस्पतालहरू अझ सुदृढ हुनुका साथै जनतामा पनि राम्रो सन्देश प्रवाह हुने उनकाे भनाइ छ ।

हाल मन्त्री राईको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै उनले भनिन्, ‘कुनै पनि साइट इफेक्ट नहुने गरी राम्रो शल्यक्रिया भएको छ । यसमा म खुसी छु र जुन टिमले शिक्षामन्त्री अशोककुमार राईको अपरेशन गरेको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

मन्त्री राईको कानमा के थियाे समस्या ?

६६ वर्षीय मन्त्री राईको देब्रे कानको शल्यक्रिया १५ वर्षअघि वीर अस्पतालमा गरिएको थियो ।

पछिल्लो समय उनी कान पाक्ने र श्रवण शक्ति गुमाउँदै जाने अवस्थामा थिए । उनको देब्रे कानको श्रवण शक्ति शुन्यमा झर्‍याे, दाहिनेबाट पनि कम सुन्न थाले ।

आफ्नाे नातिको साथमा मन्त्री राई ।

डा. प्रधानाङ्गका अनुसार कानको श्रवण शक्ति शुन्य भएको अवस्थामा शल्यक्रिया गरी कानभित्र ‘कक्लियर इम्प्लान्ट’ गरिन्छ ।

‘कक्लियर इम्प्लान्ट बिल्कुल नसुन्ने कानलाई सुनाउनका लागि विकास भएको प्रविधि हो,’ उनले भने, ‘जसले बाहिरको आवाजलाई भित्री कानसम्म पुर्‍याएर त्यहाँ भएका नसालाई स्टिमुलेशन गरेर आवाज सुन्न सक्ने बनाइदिन्छ ।’

डा. प्रधानाङ्गका अनुसार कानको जालीमा प्वाल परेर बारम्बार कान पाक्ने र सोही कारण संक्रमण भएर कानभित्रका हड्डी सुक्दै गएको अवस्थामा श्रवण क्षमता पनि नाश हुँदै जान्छ ।

कानभित्र हेयरिङ एड [सुन्न मद्दत गर्ने प्रविधि] राख्दा पनि काम नगरेको अवस्थामा अन्तिम विकल्पको रुपमा कक्लियर इम्प्लान्ट गरिने उनले बताए ।

उनले भने, ‘शिक्षा विज्ञान तथा प्रविधिमन्त्री माननीय अशोककुमार राईज्युको पनि कानमा त्यस्तै समस्या थियो । देब्रे कानमा चाहिँ बिल्कुल नसुन्ने, घरी घरी कान पाक्ने र ‘कोलेस्टिटोमा’को पहिल्यै अपरेशन भइसकेकोले अहिलेको अपरेशन हाम्रो लागि चुनौतीपूर्ण थियो ।’

भारतमा निःशुल्क, नेपालमा साढे ६ लाख छुट

कक्लियर इम्प्लान्ट उपचार विधि निकै महँगो छ । कानभित्र राखिने डिभाइस मात्र कम्तिमा १० लाखदेखि बढीमा २७ लाख रुपैयाँ पर्छ ।

सस्तो डिभाइस इम्प्लान्ट गर्नका लागि पनि औषधी, अपस्ताल बेड र विरामीका आफन्त तथा कुरुवाको खर्च सबै गरी कम्तिमा १२ देखि १३ लाख रुपैयाँ तयार पार्नुपर्ने हुन्छ ।

कुनै बच्चा जन्मदै कान नसुन्ने थाहा पाएमा तीन वर्षको उमेरभित्रै उपचार गरी कान सुन्न सक्ने बनाउन सकिन्छ ।

तर, एक सामान्य नागरिकले यो उपचार गराउन सक्दैनन् । यही कारण सरकारले २०७४ सालदेखि सबै नागरिकलाई उपचार खर्चमा साढे ६ लाख रुपैयाँ राहत दिने नीति लिएको छ ।

डा. प्रधानाङ्गका अनुसार सरकारले हरेक वर्ष ३० जनाका लागि राहत पुग्ने गरी बजेट विनियोजन गर्छ ।

उनले भने, ‘१२–१३ लाख खर्च हुँदा साढे ६ लाख रुपैयाँ सरकारले अनुदान दिने भएपछि यो अपरेशन गर्नेको संख्या बढेको छ ।’

डा. प्रधानाङ्गका अनुसार भारतमा यही उपचार सरकारले निःशुल्क गरेको छ । तर त्यो सुविधा भारतीय नागरिकहरुका लागि मात्रै हो ।

दश वर्षअघि आफूले भारतको तमिलनाडु स्टेटमा ट्रेनिङ लिइरहेको बेला नै त्यहाँ यो उपचार शतप्रतिशत निःशुल्क थियो ।

सोही कारण पनि तमिलनाडुमा मात्रै वर्षमा १५ सयदेखि २ हजार जनाको शल्यक्रिया हुने गर्दथ्यो ।

अस्पतालको बेडमै शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बाँसबारीका पूर्वनिर्देशक डा. युवराज लिम्बुको नयाँ किताब पढ्दै मन्त्री राई ।

नेपालमा यो उपचार सेवा सन् २००४ देखि नै सुरु भए पनि सरकारले आधा रकम राहत दिएपछि उपचार गराउनेहरूको संख्या बढेको छ ।

सुरुवातमा वर्षमा चार–पाँच जनाले उपचार गर्ने गरेकोमा हाल ३० देखि ३५ जनाले उपचार गर्ने उनले बताए ।

सरकारले साढे ६ लाख रुपैयाँ राहत दिने गरेको भए पनि उपचार गराउन चाहने सबैको पहुँच पुर्‍याउनका लागि सके भारतमा जस्तै निःशुल्क गर्नुपर्ने नसके राहत रकम वृद्धि गर्नुपर्ने सरकारलाई आफ्नाे सुझाव रहेको डा. प्रधानाङ्गले बताए ।

किनभने, आर्थिक अवस्था कमजोर भएकाहरूले चाहेर पनि उपचार गर्न नसकिरहेको उनकाे भनाइ छ ।

उनका अनुसार हालसम्म नेपालमा २६२ जनाको शल्यक्रिया भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. यो उपचार महङ्गो छ तर सफल छ मैले पनि मेरो बाबुको धरान बिपि कोइराला अस्पतालमा गरेको एक बर्ष भयो २०७९ असोज ५ गते धरानको इतिहासकै पहिलो अप्रेसन गरेको हो तेहा डा. शंकर शाह तथा डा. रबिन्द्र सर पनि हुनुहुन्थ्यो ।। अहिले सरकारले मलाई दिनु पर्ने अनुदान पाएको छैन धरान बाट पत्र पनि दिएको हो तर अहिलेसम्म त्यो पत्रको जवाफ आएको छैन ।। भैरहवा 9857024090,984-1202616 डा . शंकर शाह धरान ।।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्