राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरबीच बिहीबार शिष्टाचार भेट भएकाे छ ।
राजदुत गोल्डबर्गरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।
साे अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मुलमन्त्र बोकेको नेपालले बिश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहन्छ भने ।
उनले हालै इजरालयमा भएको हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता पारिएका नेपाली बिद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे ।
इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल– इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा व्यक्त गरे ।
इजरायलका राजदुत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्दति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रसंशा गरे ।