कडा स्वभावका धरानका मेयर हर्क साम्पाङले धरान–२० चिन्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमासहित सुन्दर पार्क निर्माण गर्ने योजना अघि सारेका छन् ।
बोलीवचनका कडा भए पनि उनलाई सहयोग गर्नेहरुको लर्को कायम छ, जुन श्रमदानमा होस् या आर्थिक दान जुटाउने काममा ।
सुम्निमा पारुहाङको प्रतिमासहितको पार्क निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ आगामी चैत १० गते शनिबार धरानको रंगशालामा ‘सुम्निमा पारुहाङ साँझ २०८०’ हुन लागेको छ ।
कार्यक्रममा राजेश पायल राई, दयाहाङ राई, सुगम पोख्रेल, विल्सन विक्रम राई, मेलिना राई, प्राश्ना शाक्य, एलिशा राई, रचना रिमाल, कन्चन थलङ लिम्बु जस्ता गायक-गायिका तथा अभिनेताका साथै कवि तथा प्राज्ञ राजन मुकारुङको पनि प्रस्तुति रहने छ ।
सिल्वर इन्टटेनमेन्ट आयोजक तथा गायिका मीना सिंगक संयोजक रहेको उक्त कार्यक्रममा सम्पूर्ण कलाकारहरुले सहयोग अनुरुप पारिश्रमिक नै नलिई प्रस्तुति दिँदैछन् ।
तर, प्रस्तुति हेरेर मेयर साम्पाङका योजनालाई सहयोग गर्न चाहने दर्शकका लागि भने हाल ५०० र १००० रुपैयाँको टिकट बिक्री भइरहेकाे मेयर साम्पाङका सहयाेगी करुण राईले बताए ।
मेयर साम्पाङको टिममेम्बर सत्य गुरुङका अनुसार देश–विदेशबाट हालसम्म करिब एक करोड रुपैयाँ संकलन भइसकेको छ ।
हाल सुम्निमा पारुहाङको प्रतिमासहितको पार्क निर्माणका लागि डिजाइन तयार पार्ने काम पनि भइरहेको छ ।