खोटाङको साकेला गाउँपालिकाले पछिल्लो समय तीव्र गतिमा बढिरहेको बसाइँ हिँड्ने क्रम रोक्नका लागि शिशुको नाममा १५ हजार रुपैयाँसहित बैंक खाता खोलिदिने नीति ल्याएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त नीति समावेश गरेको हो।
गाउँपालिकाले आगामी साउनदेखि गाउँपालिकामा जन्मिने हरेक शिशुको नाममा नेपाल एसबिआई बैंकमा १५ हजार रुपैयाँसहितको खाता खोलिदिनेछ।
बच्चा १८ वर्ष उमेर नपुगुन्जेलसम्म बुवा-आमाले उक्त खाताको पैसा निकाल्न पाउने छैनन्।
बालबालिकाहरू उच्च शिक्षा लिनबाट बञ्चित नहोस् र आवश्यक परेमा व्यापार गर्नका लागि केही रकम संचित होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।
याे खाता खोल्नका लागि स्वास्थ्य संस्थामै बच्चा जन्मिएकाे हुनुपर्ने, समयमै जन्मदर्ता गराएको हुनुपर्ने, कम्तीमा १२ कक्षासम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने छ।
तर, बीचमै बसाइँ सरेर गएका परिवारका बालबालिकाको खाता भने बन्द गरिने छ। यो कार्यक्रम गाउँमै बस्न प्रोत्साहन गर्नका लागि ल्याइएको हो।
खोटाङ जिल्ला देशभरि बढी बसाइँ सर्ने जिल्लाहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ।
साकेला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ३० लाख ३९ हजार ६५९ रुपैयाँको बजेट पास गरेकाे छ।
गत असार १० गते सम्पन्न १५औँ गाउँसभा उपाध्यक्ष बिर्सिका राईले प्रस्तुत गरेकाे बजेट अनुसार चालुतर्फ २७ करोड ४७ लाख एक हजार ६९ रुपैयाँ र पुँजीगततर्फ ११ करोड ८३ लाख ३८ हजार ५९० रुपैयाँ छ।


