आफ्नै शालिकको अनावरण गरेपछि मन्तव्य राख्दै मेयर हर्क साम्पाङ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्क कसैले बजेट छुट्याइदिएर ठेकेदारले बनाइदिएको पार्क नभएको प्रष्ट पारेका छन् ।

श्रम संस्कृति पार्क त जनताको चेतना र पसिनाले बनेको उनको भनाइ छ ।

मंगलबार बिहान श्रम संस्कृति पार्कमा निर्मित आफ्नै शालिकको अनावरण गर्दै मेयर साम्पाङले सो कुरा बताएका हुन् ।

उनले पहिले पार्कमा आफ्नाे फाेटाे राख्दा पनि आफ्नाे प्रचार गर्‍यो भन्दै विरोधीहरूले निन्दा गरेको स्मरण गरे ।

हाल उनले आफ्नै प्रतिमाकाे अनावरण गरे । र, राम्रो काम गर्ने मान्छेको जिउँदाेमै शालिक बनेको अर्थमा सामाजिक परिवर्तन हुन थालेको बताए ।

उनले भने, ‘मान्छे मरेपछि मात्रै प्रतिमा बनाउने पुरानो चलन थियो । तर हामीले नयाँ चलनको सुरुवात गरेका छौं । यो मेरो लागि अत्यन्तै ऐतिहासिक छ । राम्रो कर्म गर्नेलाई बाचिन्जेल गाली गरिन्छ, तर मरेपछि बिचरा राम्रो हुनुहुन्थ्यो भन्ने समाजलाई अब हामी परिवर्तन गर्दैछौं ।’

राम्रो काम गर्नेलाई मुख प्रशंसा नगरे पनि चुप लागेर बस्नु मात्रै पनि समर्थन गरेको हुने उनले बताए ।

उनले भने, ‘स्वाबास भन्नुपर्छ, खाँदा लगाइदिनुपर्छ, माला लगाइदिनुपर्छ भन्ने छैन । प्रसंशा नै गर्नुपर्छ भन्ने छैन । तर उसले राम्रो काम गर्दैछ भने उसलाई बाधा नगर्नु । उसलाई असहयोग नगर्नु, उसलाई मुद्दा नहाल्नु भनेको नै उसलाई उत्प्रेरणा दिनु हो ।’

उनले देश विदेशमा रहेका नेपालीहरूले आफ्ना स्वर्गीय बाउआमा र आफन्तको नाममा गरेको सहयोगले श्रम संस्कृति पार्क निर्माण भएको बताए ।

श्रम संस्कृति पार्कको हरेक ढुंगो, माटो, बोट, विरुवामा सहयोगदाताहरूकाे सम्झनाहरू जो काेहीले पनि देख्न सकिने बताए ।

उनले चेतना विनाको विकासको अर्थ नहुने बताए ।

१० लेनको सडक बनाए पनि वा १०० तलाकाे बिल्डिङ बनाए पनि तपाईंसँग चेतना छैन भने त्यसको अर्थ नहुने मेयर साम्पाङको भनाइ छ ।

चेतनाले निर्माण भएकोले हुनाले श्रम संस्कृति पार्क सानो भए पनि आफूलाई प्यारो लाग्ने उनले बताए ।

उनले श्रमको महत्व बुझाउन र संस्कृतिलाई निरन्तरता दिनका लागि नै आफूले उक्त पार्कको नाम श्रम संस्कृति पार्क राखेको बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here