किरात राईहरूको सामाजिक संस्था किरात राई यायोक्खालाई सक्रिय र शक्तिशाली बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याएका यायोक्खाका पूर्वअध्यक्ष कुलबहादुर राई (एमबिई)को ८४ वर्षको उमेरमा शुक्रबार बेलुकी निधन भएको छ।
पछिल्लो चार वर्षदेखि मिर्गौला रोगबाट पीडित रहेका उनी शुक्रबार बेलुकी अचानक बेहोस भएपछि काठमाडौंको धुम्बाराहीस्थित हेम्स अस्पतालमा पुर्याइएको थियो।
तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
तुवाचुङ जायजुम संरक्षण समितिका कार्यबाहक अध्यक्ष सर्वधन राईका अनुसार दिवंगत कुलबहादुर राईका जेठो छोरा बेलायतबाट भोलि (आइतबार) बिहान नेपाल आइपुग्ने र सोही दिन दिउँसो ३ बजे पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ।
उनको पार्थिव शरीर श्रद्धाञ्जली सभाका लागि भोलि दिउँसो १ देखि २ बजेसम्म काठमाडौंको बासबारीस्थित निवासमा राखिने छ।
दिवंगत राई तुवाचुङ जायजुम संरक्षण समितिका प्रमुख सल्लाहकार समेत थिए।
यायोक्खाको तीन कार्यकाल नेतृत्व गरेका उनले राई समुदायको विभिन्न भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान दिएका थिए।
यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले कुलबहादुर राईको निधनले यायोक्खाले एक अभिभावक गुमाएको बताए।
‘उहाँको निधनले सिंगो किरात राई यायोक्खालाई अपूरणीय क्षति पुगेको छ। उहाँको यायोक्खा र किरात राई समुदायप्रतिको योगदान अतुलनीय छ,’ उनले भने।
हङकङमा ३२ वर्षसम्म गोर्खा आर्मीका छोराछोरीलाई पढाउने स्कुलमा अध्यापन गराएका दिवंगत राईले पछिल्लो समय बान्तावा भाषाको शब्दकोश निर्माणमा नेतृत्वदायी भूमिका खेलेका थिए।
भोजपुरको ओख्रे पुख्यौली घर भएका उनका दुई छोरा छन्। उनकी श्रीमतीको भने ३० वर्षअघि नै निधन भएको थियो।