धरान उपमहानगरका मेयर हर्क साम्पाङले छिट्टै माया धराने साबुन पनि उत्पादन गर्ने र त्यसमा पनि आफ्नो फोटो राख्ने बताएका छन्।

उनका अनुसार, माया धराने साबुन उत्पादन गर्न खोज्दा अनेक किसिमका मुद्दा लगाएर अवरोध गरिएको रिसले नै माया धराने बेसार उद्योग स्थापना गरिएको हो।

बेसारको प्याकेटमा मेयर साम्पाङको फोटो राखिएको भन्दै आलोचना भएको सन्दर्भमा उनले भने, ‘अब साबुन पनि उत्पादन गर्छु, त्यसमा पनि ढुंगा बोकेको फोटो राख्छु।’

‘काम गर्नेको फोटो नराखेर कसको राख्ने?’ भन्दै उनले प्रश्न गरे।

उनले माया धराने बेसार उद्योगको भिजन आफ्नै भएकाले प्याकेटमा आफ्नो फोटो राखिएको स्पष्ट पारे।

खानेपानीका लागि विदेशी ऋणको बजेट नचलाउने अडान उनले दोहोर्याए।

शुक्रबार धरान पुगेका खानेपानी मन्त्री प्रदीप यादवले मेयर साम्पाङसँग भेट्न खोजेका थिए, तर साम्पाङले भेट्न चाहेनन्।

उनले धरानले करिब ६० करोड रुपैयाँ ऋण तिरिरहेको भन्दै धराने जनताको टाउकोमा थप ऋणको बोझ नथप्ने बताए।

सरकारले राष्ट्रिय बजेटबाटै धरानको खानेपानीका लागि बजेट छुट्याउनुपर्ने उनले जोड दिए।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रिय बजेटबाट सप्तकोशीको पानी ल्याउने योजना भए आफू स्वीकार गर्न तयार रहेको जनाएका छन्।