काठमाडाैं – नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकले हालसम्म सञ्चालन गर्दै आएको योगदानमा आधारित र गैर-योगदानमा आधारित उपदान तथा अन्य अवकाश कोषहरू अब नागरिक लगानी कोषमा हस्तान्तरण गरिनेछ।

यससँगै बैंकमा कार्यरत करिब २ हजार कर्मचारीहरूको उपदान तथा अवकाशसम्बन्धी सम्पूर्ण व्यवस्थापन र सञ्चालन कोषमार्फत हुनेछ।

चालु आर्थिक वर्ष २०८२/८३ बाट नेपाल सरकारको आर्थिक ऐन, २०८२ मा भएको संशोधनअनुसार, पूर्व स्वीकृत अवकाश कोषहरू नागरिक लगानी कोष वा अन्य तोकिएका कोषमा अनिवार्यरूपमा आवद्ध गरिनुपर्ने व्यवस्था लागू गरिएको छ।

यसै प्रावधानअनुसार सिद्धार्थ बैंकले आफ्नो अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण गरेको हो।

यसअघि, आन्तरिक राजस्व विभागले असार ३१ गते एक सूचना प्रकाशित गर्दै आयकर ऐन, २०५८ बमोजिम विभागबाट स्वीकृत अवकाश कोषहरू आगामी २०८३ साल असार मसान्तसम्ममा नागरिक लगानी कोष वा अन्य सम्बन्धित कोषमा अनिवार्यरूपमा आवद्ध गरिनुपर्ने जानकारी गराएको थियो।