मो. रिजवान अन्सारी।

काठमाडाैं – दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–८ मा ईसाई धर्मावलम्बी एक मृतकको शव सामुदायिक वन क्षेत्रमा दफन गर्न नदिएको घटनाप्रति नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुःख, आक्रोश र आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा घटनालाई अमानवीय, संविधानविपरीत र मानव अधिकारको उल्लङ्घन भएको भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कसैको मृत्यु आफैंमा गहिरो पीडा हो। त्यसमा पनि धर्मकै कारण अन्त्येष्टि गर्न नदिइनु, परिवारलाई चिहानस्थलबाट फर्कन बाध्य पारिनु केवल संवेदनहीनता होइन, पाशविकता हो।”

पार्टीका अनुसार यस प्रकारको व्यवहारले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धर्मनिरपेक्ष राष्ट्रको मर्म र आत्मामाथि गम्भीर चोट पुर्‍याएको छ।

मृतकको धर्म, संस्कार र विश्वासअनुसार अन्त्येष्टि गर्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो। तर उक्त घटनाले सो अधिकारमाथि नै निर्दयी प्रहार गरेको पार्टीको आरोप छ।

नेपाल संघीय समाजवादी पार्टीले सो घटनालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लाजमर्दो कालो धब्बा भन्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ।

पार्टीले घटनाले सम्पूर्ण ईसाई समुदायलाई अपमानित गरेको उल्लेख गर्दै, यस्ता विभेद अन्त्य गर्न स्थायी र प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग राखेको छ।

साथै, शोकमा डुबेको पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here