३१औं विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगस्ट ९ (श्रावण २४ गते) लाई केन्द्रमा राख्दै ३१औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने तयारी गरेको छ।

यस वर्षको मुख्य नारा “प्राकृतिक स्रोत, जल, जमिन र जंगल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्रसंघका एजेन्सी, युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गरौं” भन्ने रहेको छ।

नेफिनले गत आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रावण २४ गतेदेखि २८ गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो।

दिवसको मुख्य आकर्षणको रूपमा श्रावण २४ गते (अगस्ट ९) का दिन काठमाडौंको भृकुटीमण्डपबाट झाँकीसहित पाँच हजारको सहभागितामा बृहत र्‍याली निकालिने भएको छ।

र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ।

नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाका अनुसार, दिवस आदिवासी जनजातिहरुको जातीय, भाषिक, सांस्कृतिक र धार्मिक पहिचानलाई स्थापित गर्ने, मौलिक ज्ञान, सीप र थातथलोको संरक्षण तथा प्रवर्द्धन गर्ने, र राज्यका सबै तहमा समानुपातिक सहभागिताको बहसलाई अघि बढाउने अवसरको रूपमा मनाइनेछ।

नेफिनका महासचिव दिवस राईले दिवसको अवसरमा विभिन्न जातीय भेषभूषा, सांस्कृतिक झाँकी, परम्परागत नृत्य, रैथाने परिकार, मातृभाषा गीत, लोकभाका र कलाकृतिहरु प्रदर्शनी गरिने जानकारी दिए।

५ हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको कार्यक्रममा राष्ट्रिय सभागृह बाहिरबाट पनि प्रत्यक्ष प्रसारणको व्यवस्था गरिनेछ।

कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राजनीतिक दलका प्रतिनिधिहरू, पूर्ब अध्यक्षहरू, आदिवासी जनजातिका विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धित संघसंस्थाहरूको व्यापक उपस्थिति रहनेछ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img