फागुन २१ को निर्वाचनः १० लाख १६ हजार नयाँ मतदाता थपिए

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि करिब १० लाख १६ हजार नयाँ मतदाता थपिए पनि अन्तिम सूचीमा यो संख्या केही घट्न सक्ने भएको छ।

निर्वाचन आयोगले हाल नयाँ नामहरूको रुजु तथा दोहोरो नाम हटाउने प्रक्रिया तीव्र बनाएको जनाएको छ।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदाता नामावलीको अन्तिम सूची पुस १५ गते सार्वजनिक गरिनेछ।

“नयाँ नामहरूको प्रमाणीकरण र दोहोरो दर्ता हटाउने काम चलिरहेको छ, अन्तिम सूचीमा संख्या केही कम हुन सक्छ,” उनले भने।

आयोगका अनुसार २०६४ साल फागुन २० सम्म जन्मिएका नेपाली नागरिक यस निर्वाचनमा मतदान गर्न योग्य हुनेछन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८० लाख मतदाता रहेको थियो।

राष्ट्रिय परिचयपत्र विवरणका आधारमा अनलाइन दर्ता खुला भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढेको आयोगको भनाइ छ।

मतदाता दर्ताको समयसीमा कात्तिक ३० सम्म तोकिएकोमा पछि सात दिन थप गरिएको थियो।

यसपटक निर्वाचन व्यवस्थापनमा खर्च कटौती हुने संकेत पनि देखिएको छ।

आयोगसँग पर्याप्त मौज्दात रहेकाले नयाँ मतपेटिका र मतपत्र छाप्न आवश्यक कागज खरिद गर्न नपर्ने भएको हो।

निर्वाचनका लागि करिब ७५ हजार मतपेटिका आवश्यक पर्ने भए पनि ती सबै आयोगसँग उपलब्ध छन्।

निर्वाचन प्रयोजनका लागि कुल ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाउँदै प्रवक्ता भट्टराईले तीमध्ये ३७ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत खरिद गर्न निर्देशन दिइएको जानकारी दिए।

उनका अनुसार मतपत्र छाप्ने काम पुसको अन्तिम साताबाट सुरु हुनेछ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img