सोनम वाङ्चुकको पक्षमा दृढतापूर्वक उभिएको छु : पवन चाम्लिङ

सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले १८ दिनदेखि आमरण अनशनमा रहेका भारतका शिक्षाविद् तथा पर्यावरण अभियन्ता सोनम वाङ्चुकको पक्षमा आफू दृढतापूर्वक उभिएको बताएका छन्।

भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेर अनशनरत वाङ्चुकको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो समर्थन जनाएका हुन्।

चाम्लिङले वाङ्चुक केवल लद्दाख वा भारतका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि नै अमूल्य व्यक्तित्व भएको उल्लेख गरेका छन्। वातावरणीय तथा सामाजिक चुनौती बढिरहेका बेला उहाँजस्ता व्यक्तित्वको आवश्यकता अझ बढी रहेको उनको भनाइ छ।

‘उहाँको अभियानमा म दृढतापूर्वक उहाँको साथमा उभिएको छु र आफ्नो पूर्ण समर्थन व्यक्त गर्दछु,’ चाम्लिङले लेखेका छन्। ‘उहाँ आफ्नो उद्देश्यमा सफल हुनुपर्छ, किनकि उहाँको सफलतामा न्याय, लोकतन्त्र र वातावरण संरक्षणमा विश्वास गर्ने सम्पूर्ण मानिसहरूको सफलता निहित छ।’

हाल वाङ्चुक र ककरोच जनता पार्टी (सिजेपी) ले नीट (यूजी) २०२६ सहित विभिन्‍न परीक्षामा भएको अनियमितताको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा गर्न दबाब दिइरहेका छन्।

सिजेपीको जन्तर–मन्तरस्थित आन्दोलन बुधबार २६ औं दिनमा प्रवेश गरेको छ। वाङ्चुक जुन २८ मा आन्दोलनमा सहभागी भएका थिए र त्यसै दिनदेखि आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन सुरु गरेका हुन्।

सिजेपीका संस्थापक अभिजीत दिपकेले अनसन सुरु भएयता वाङ्चुकको स्वास्थ्यबारे दैनिक जानकारी सार्वजनिक गर्दै आएका छन्।

मंगलबार सार्वजनिक गरिएको अद्यावधिक विवरणमा दिपकेले वाङ्चुकको मांसपेशी क्षय हुन थालेको, उनी तीव्र पीडामा रहेको बताएका छन् । तर, अनसन अन्त्य गर्न अस्वीकार गरिरहेको दिपकेले बताए।

उनका अनुसार अनसन सुरु भएदेखि वाङ्चुकको तौल ८.४ किलोग्रामभन्दा बढी घटिसकेको छ। साथै, उनको रक्तचाप पनि घट्दै गएको छ र मंगलबारसम्म १०९/७० मा झरेको छ।

यसअघि वाङ्चुकले लद्दाखका लागि संविधानको छैटौं अनुसूची (Sixth Schedule) अन्तर्गत संवैधानिक संरक्षण, राज्यको दर्जा, वातावरण संरक्षण र स्थानीय अधिकार जस्ता मुद्दामा पनि लामो आन्दोलन र अनशन गरेका थिए।

तर अहिलेको आमरण अनशन मुख्यतः परीक्षा प्रणालीमा देखिएको अनियमितता र त्यसको राजनीतिक जवाफदेहितासँग सम्बन्धित छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्