सामाजिक सञ्जाल र श्रम अभियानमार्फत निरन्तर चर्चामा रहने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पहिचानसहितको संघीयताको पक्षमा नरहेको सन्देश दिएका छन्।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै कार्यकर्ताहरूलाई ‘जातीय राज्यको कुरा गर्ने राजनीतिक कार्यक्रमहरूमा नजान’ स्पष्ट निर्देशन दिएका हुन्।

राज्य पुनःसंरचना र पहिचानसहितको संघीयताको मुद्दालाई अस्वीकार गर्दै आएका साम्पाङले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुन सकिने भए पनि जातीय राज्यका कुरा उठाउने राजनीतिक कार्यक्रमहरूमा भने जान नहुने उल्लेख गरेका छन्।
साम्पाङको यो अभिव्यक्ति विरोधाभाषपूर्ण देखिए पनि यसले अन्ततः नेपालमा पहिचानसहितको संघीयताको मुद्दालाई कमजोर बनाउन मद्दत पुर्याउनेछ।
नेपालका उत्पीडित आदिवासी जनजातिहरूले आफ्नो इतिहास, सभ्यता, भाषा र संस्कृतिका आधारमा पहिचानसहितको प्रदेशको माग गर्दै आइरहेका छन्। तर, पहिचानविरोधी पक्षहरूले यसलाई ‘जातीय राज्य’ को रूपमा गलत प्रचार गर्दै आएका थिए।
श्रम नगरेकै कारण देश नबनेको दाबी गर्दै आएका साम्पाङले पनि पहिचानविरोधी खेमालाई नै बल पुग्ने गरी आदिवासीहरूका मुद्दालाई ‘जातीय’ भएको तर्क अघि सारेका छन्।
यसअघि पनि उनले आदिवासी जनजातिहरूले दसैँ पर्व मनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए।
स्वेच्छाचारी शैली र एकल निर्णयका आधारमा पार्टी सञ्चालन गर्दै आएको आरोप खेपिरहेका साम्पाङले अन्य राजनीतिक दलहरूसँग एकता नगर्ने र आफ्नो पार्टीमा प्रवेश मात्र गराउने अडानसमेत राखेका छन्।
