भारतमा काेराेना महामारीकाे तेस्रो लहर चल्ने निश्चितः वैज्ञानिक

भारतमा कोरोना महामारीको तेस्रो लहर चल्ने निश्चित रहेको त्यहाँका वैज्ञानिकहरूले बताएका छन् ।

सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार वैज्ञानिक विजय राघवनले यस्तो प्रक्षेपण गरेका हुन् । यतिखेर कोरोना भाइरसको फैलावट विश्लेषण गर्दा अब भारत महामारीको तेस्रो लहरमा लपेटिने निश्चित भएको उनले बताएका छन् ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन क्रममा राघवनले भनेका छन्‌, ‘तेस्रो लहर आउने मिति नै त हामीलाई थाहा छैन, तर अब कोरोना प्रोटोकल निरन्तर पालना गर्दै महामारीको तेस्रो लहरसँग जुध्न तयार भएर बस्नुपर्छ ।’

भाइरसको नयाँ म्यूटेन्टसँग मुकाविला गर्न अब कोरोना भ्याक्सिन पनि अद्यावधिक हुन जरुरी रहेको उनले बताएका छन् ।

मानिसहरूले अपनाएको सावधानीले पनि उत्परिवर्तन भाइरस संक्रमण फैलावट रोक्न नसकिएको राघवनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हामीले कोभिड प्रोटोकल पालना गर्दै भ्याक्सिन लगाउनुपर्छ । यस भाइसरबारे वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । भाइरसमा भइरहेको बदलाव पहिचान गर्न खोजिरहेका छौँ, अब यससँग जुध्न मानिसहरू तयार भएर बस्दा हुन्छ ।’

भारतको गृह मन्त्रालयले पनि बेंगलुरु, चेन्नई, कोझिकोड, इर्नाकुलम, थिसुर, मल्लापुर (केरल), गुरुग्राम र पटनामा अघिल्ला दुई सातायता भाइरस संक्रमण तीव्र भएको जानकारी दिएको छ । यसले पनि भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको पुष्टि गर्न सकिने स्थिति छ ।

त्यहाँको स्वास्थ्य विभागका संयुक्त सचिव लव अग्रवालले भनेका छन्, ‘कर्नाटक, केरल, आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल, महाराष्ट्र र बिहारमा हरेक दिन कोरोना संक्रमण मामिला बढोत्तरी भइरहेको छ, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, दिल्ली र हरियाणामा पनि संक्रमणपछि ज्यान गुमाउने क्रम वृद्धि भइरहेको छ ।’

भारतको नीति आयोगका सदस्य डा. वीके पालले संक्रमण जनावरबाट नभई मानवबाट मानवमा फैलिरहेकाले अवस्था चिन्ताजनक भएको बताएका छन् ।

दोस्रो लहरबाटै स्थिति भयावह

भारतमा कोरोनाको दोस्रो लहरबाटै स्थिति भयावह बनिसकेको छ ।

अति प्रभावित मुलुकको सूचीमा भारत अमेरिकापछिको स्थानमा छ । त्यहाँ २ करोड १४ लाख ९१ हजार ५९८ जना संक्रमित फेला परेका छन् भने २ लाख ३४ हजार ८३ संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यहाँका अस्पतालहरू संक्रमितले खचाखच भरिएका छन् । अस्पतालमा भर्ना नपाएर या पुग्न नसकेर लाखौं संक्रमितहरू घरमै छट्पटाइरहेका छन् । अक्सिजन र औषधीको चरम अभाव खेपेपछि विश्वका विभिन्न मुलुकले भारतलाई केही सहयोग गरेका छन् ।

महामारीलाई कम आंकलन गर्दा स्थिति जटिल भएको राघवनले स्वीकार गरेका छन् । अब त्यहाँ भारतभर फेरि लकडाउन लगाउनेबारे केन्द्र सरकारले निर्णय गर्नसक्ने उनले जानकारी दिएका छन् । एजेन्सी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्