टिकटक तथा युट्युबबाट चिनिएकी सम्झना शाही (राउटे)सहित दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाएर उनीहरुमाथि यौन दुर्व्यवहार गरिएको घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष जगत बरामले आज एक प्रेस विज्ञप्ति जारी गरी सो घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न माग गरेका छन् ।
सुर्खेतस्थित गुर्भाकोट नगरपालिका वडा नं ९ का होटल सञ्चालक मिलन पुन र सोही ठाउँका भूपेन्द्र बुढा मगरले सम्झना र गाजलु राउटेलाई होटलमा लगेर यौनजन्य दुर्व्यवहार गरिरहेको एउटा भिडियो भेटिएको छ । जसमा उनीहरु सबैले मादक पदार्थ सेवन गरिएको अनुमान गर्न सकिन्छ ।
महासंघले अलग जीवनपद्धतिसहित अलग रुपमा बाँच्दै आएका राउटे समुदाय र ती समुदायका युवायुवतीहरुको अनुमतिबेगर नै भिडियो खिच्ने, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा हाल्ने घटना बढिरहेको भन्दै सोको समेत नियन्त्रण तथा छानविन गर्न सरकारसँग माग गरेको छ ।
(सुरूमा हामीले उक्त भिडियाेमा अनुहार ब्लर गरी प्रकाशित गरेका थियाैं । तर पछि त्यसले पनि पीडितमाथि अप्ठेराे पर्न सक्ने परिस्थिति अनुमान गरी भिडियाे हटाएका छाैं । स.)