नेपालमा कोरोनाको नयाँ ‘म्युटेसन’ भेटियाे

नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार ४८ वटा नमुना परीक्षण गर्दा ४७ वटामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) पुष्टि भएको हो ।

यस्तै एक नमुनामा अल्फा भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको छ । डेल्टा भेरिएन्ट पुष्टि भएकामध्ये नौवटामा म्युटेसन देखिएको उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट वैशाख २६ देखि जेठ २० सम्म सङ्कलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको मान्यताप्राप्त भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा भएको जिन सिक्वेन्सिङमा उक्त भेरिएन्ट पत्ता लागेको हो ।

डेल्टा भेरिएन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ भने अल्फा भेरिएन्ट १६४ देशमा देखिएको छ । ४७ जनामध्ये नौवटा नमुनामा के ४१७ एन भन्ने परिवर्तित रूप देखिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरिएन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरिएन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरिएन्टलाई गामा र भारतमा भेटिएको भेरिएन्टलाई डेल्टा नामकरण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेठ २० सम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालय तथा दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा पठाइएकोमा डेल्टा नामक भेरिएन्ट पुष्टि भएको जानकारी दिएका छन् । गाेरखापत्र अनलाइन

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्