किरातीहरुको एउटै साझा लिपि बनाउन प्राज्ञिक छलफल सुरु

किराती भाषाहरुको साझा वर्णमाला तथा लिपि निर्माणका लागि प्राज्ञिक छलफल सुरु गरिएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा आज काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालयमा ‘किराती भाषाहरुको साझा वर्णमाला निर्माण तथा लिपिसम्बन्धी कार्यशाला गोष्ठि’ आयोजना गरिएको हो ।

यायोक्खाको संयोजना तथा व्यवस्थापनमा आयोजना गरिएको गोष्ठि भोलि शनिबार सकिने छ ।

किरात राई जातिभित्र कुलुङ, थुलुङ, नाछिरिङ, खालिङ, कोयु, चाम्लिङ, बान्तावा, दुमी, पुमा, सम्पाङ, बायुङ लगायत २६ भाषिक समुदाय छन् ।

राईभित्रका विभिन्न भाषा तथा सुनुवार, लिम्बु, याक्खा लगायत अन्य किरातीहरु र उनीहरुका भाषाहरुलाई समेत समेटेर समग्र किरातीहरुको साझा लिपि निर्माण गर्ने प्रयास अनुरुप प्राज्ञिक छलफल सुरु गरिएको हो ।

किरात समुदायमा राईहरुको २६ भाषासहित अन्य किरातीहरुको भाषा गरी तीन दर्जनभन्दा बढी भाषाहरु छन् ।

गोष्ठिको पहिलो दिन आज राई जातिभित्रका विभिन्न भाषाहरुबारे केन्द्रित भएर भाषाविज्ञ तथा भाषिक संस्थाका प्रतिनिधिहरुको बिचमा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारामणि राईले ‘किराती भाषाहरुमा साझा वर्णमालाको अवधारणा र लिपि’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

जसमा उनले किरात (सिरिजंगा) लिपि र राई समूहका भाषाहरुको स्वर वर्ण र व्यञ्जन वर्णबारे विस्तार गरेका थिए ।

डा. राईले लिपि निर्माण गर्नुअघि भाषाका वर्णहरु निर्धारण गर्न आवश्यक हुने भएकोले पहिले राईभित्रका भाषाका वर्णहरु पत्ता लगाउनुपर्ने बताए ।

कार्यक्रममा राईभित्रका विभिन्न भाषिक संस्थाका प्रतिनिधिहरुले किरातीहरुको साझा वर्णमाला र लिपि निर्माण सम्बन्धी छलफल सुरु गरिएकोमा खुसी व्यक्त गरे ।

गोष्ठिको दोस्रो दिन शनिबार किरातभित्र पर्ने सुनुवार, याक्खा, लिम्बु लगायत जाति तथा समुदायका प्रतिनिधिहरुलाई समेत सहभागी गराएर छलफल चलाइने यायोक्खाका अध्यक्ष दिवस राईले बताए ।

प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीको अध्यक्षतामा भएको गोष्ठिको सञ्चालन यायोक्खाका महासचिव जनक राईले गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्