Sunday, November 27, 2022
10.5 C
Diktel

थारु भाषाको मानक लेखन निर्देशिका तयार, लिपिकाे खाेजी गरिँदै

Subtitle

थारु भाषाको मानकीकरणका लागि थारु मानक लेखन निर्देशिका तयार भएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरका भाषा विशेषज्ञ प्रा.डा. दानराज रेग्मी र डा. नेत्रमणि दुमी राईको विशेष निगरानीमा लेखन निर्देशिका तयार गरिएको हो ।

थारु आयोग र थारु कल्‍याणकारिणी सभाको समन्वयमा भक्तपुरको बोडेमा आयोजित चारदिने कार्यशाला गोष्ठीबाट १२ बुँदे निष्कर्षसहित थारु मानक भाषा लेखन निर्देशिक तयार भएको थारु आयोगका अध्‍यक्ष विष्णु चौधरीले अनलाइनखबरलाई
जानकारी दिए ।

उनले भने, ‘थारु भाषा मानकीकरणको पहिलो खुड्किलोको काम भएको छ ।’ मानकीकरणको काम अझै बाँकी रहेकाले यसका लागि निरन्तर पहल गरिरहने चौधरीले बताए ।

गोष्ठीले थारु भाषाको मानकीकरण गर्दा थारु लिपि पत्ता नलागेसम्म देवनागरी लिपि प्रयोग गर्ने र थारु लिपि खोजी जारी राख्ने निर्णय पनि गरेको छ ।

उनले थारुको वर्णमाला बनाउँदा स्वर वर्णको कथ्यमा अ, आ, इ, उ, ए, ओ गरी ६ वटा वर्ण प्रयोग हुने भए पनि लेख्यमा अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः गरी १३ वटा वर्णको प्रयोग गर्ने निर्णय गरेको बताए ।

यस्तै व्यन्जन वर्णको कथ्यमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह गरी २९ वटा वर्णको प्रयोग गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै लेख्य वर्णमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स ह, लेख्ने, र श, ष, क्ष, त्र, ज्ञ समेत गरी ३६ वटा वर्णको आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, संवर्णको रुपमा ड, ढ, ङ्ह, न्ह, म्ह, र्ह, ल्ह गरी ७ वटा वर्णको प्रयोग गर्ने, तत्सम, तद्भव र आगन्तुक शब्दलाई स्वीकार गरी लेख्ने निर्णय गरेको छ भने थारु मौलिक शब्दलाई उच्चारणको आधारमा ह्रस्व र दीर्घ दुवैको
प्रयोग गर्ने निर्णय पनि गरेको उनले बताए ।

त्यस्तै पञ्चम वर्ण ङ, ञ, ण, न, म लाई देवनागरी लिपीमा भए अनुसार लेख्ने, अ, आ र उ उच्चारणबाट बन्ने शब्दमा चन्द्रविन्दु ( ँ ) को प्रयोग गर्ने, अन्यमा शिर विन्दू ( ं ) प्रयोग गर्ने निर्णय गोष्ठीले गरेको छ ।

यस्तै पाउ विन्दू, हलन्त र अजन्त चिह्नहरूको आवश्यकताअनुसार प्रयोग गर्ने, स, श र ष मध्ये थारू मौलिक शब्दमा ‘स’ को प्रयोग गर्ने, तत्सम, र आगन्तुक शब्दहरूमा भने ‘श’ र ‘ष’ दुवै वर्णको समेत प्रयोग गर्ने निर्णय भएको छ ।

त्यस्तै, कारक र विभक्ति चिह्न शब्दसँग जोडेर लेख्ने, खातिर र लाग विभक्ति छुट्टै प्रयोग गर्न सक्‍ने निर्णय गरेको छ भने शब्दको शुरु र बीचमा इकारका लागि ( ि) चिन्हको प्रयोग गर्ने, तर शब्दको अन्त्यमा इकार का लागि ( ी ) र शुरु र बीचमा ह्रस्व उकार ( ु ), अन्त्यमा ऊ कार ( ू ) दीर्घ मात्रा शब्दको अन्तिममा प्रयोग गर्ने निर्णय गरेको छ ।

सवही अनुसार थारू मौलिक शब्दमा ह्रस्व प्रयोग गर्ने, आगन्तुक शब्दमा स्रोतभाषाको लेखन प्रणाली अनुसार ह्रस्व र दीर्घ प्रयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्