सेती नदीको मोटरेबल पुल ६ वर्षदेखि अलपत्रः चारपटक म्याद सकियो, निर्माण सकिएन

ठेकेदारले निर्धारित समयमा काम नगर्दा सेती नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्न सेती नदीमा निर्माण थालिएको पुल ६ वर्षदेखि अलपत्र परेको हो ।

संघीय सरकारको लगानीमा निर्माण थालिएको पुलको तेस्रो पटक थपिएको म्याद ९ भदौमा सकिएको छ । तर, पुल निर्माण भने सकिएको छैन । अहिलेकै गतिमा पुल निर्माण भइरहे सम्पन्न हुन अझ केही वर्ष लाग्ने छाँट देखिन्छ ।

२९ असार २०७५ सम्म निर्माण सक्ने सर्तमा ३० असार २०७२ मा एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । निर्धारित समयमा काम नसकिएपछि १५ चैत २०७६ सम्मको म्याद थपियो । दोस्रोपटक थपिएको म्यादमा काम आधा पनि भएन ।

१४ फागुन २०७७ सम्म फेरि तेस्रो म्याद थप भयो । यो अवधिमा पनि पुलको प्रगति निराशाजनक नै रह्यो । ९ भदौ २०७८ सम्मलाई चौथोपटक थपिएको म्याद सकिएको छ । काम भने अधुरै देखिन्छ ।

पुल निर्माणस्थलमा तीनवटा पिल्लर मात्रै ठडिएको छ । नदी किनारमा दुई र नदीको बीचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीचमा अझै अर्को पिल्लर बनाउन बाँकी छ ।

गएको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको वहाव बढेपछि काम रोकियो । हालसम्म ६५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

कोरोनाले प्रभावित निर्माणाधिन आयोजनालाई ६ महिना म्याद थप्ने सरकारको निर्णयअनुसार दोभानको पुलको पनि म्याद थप हुन सक्ने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनियर अमितकुमार श्रेष्ठ बताउँछन् । तर, कार्यविधि स्पष्ट नभएकाले म्याद थप हुने नहुने अन्योल रहेको उनको भनाइ छ ।

यदि सरकारको निर्णयअनुसार स्वतः म्याद थप नभएको अवस्थामा १५ असोजअगावै निर्माण कम्पनीले काम नथाले कारवाहीको प्रक्रिया सुरु गर्ने उनले बताए ।

‘अहिले बर्खाको बेलामा बोलाएर पनि काम गर्न सक्ने अवस्था छैन । नदीमा पानीको वहाव घटेपछि काममा नआए कारबाहीको प्रक्रिया थाल्छाैँ । ठेक्का रद्द गरेर कालोसूचीमा राख्ने, धरौटी जफतको काम हुन्छ’, उनले भने ।

समयमै पुल निर्माण नहुदाँ सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् । पृथ्वी राजमार्ग नजिकैका बस्ती बर्खामा यातायात सञ्जालबाट टाढा भएको भागरका प्रेमबहादुर थापाले बताए । उनका अनुसार दुईपांग्रे सवारी झोलुंगे पुलबाट जोखिम मोलेर तार्ने गरिएको छ ।

‘अधुरो पुल हेर्दै झोलुंगे पुलबाट बाइक स्कुटर तार्नुपर्छ’, उनी भन्छन्, ‘सवारी चलाउने र पुल तर्ने पैदलयात्रीलाई जोखिम छ । धेरैपटक दुर्घटना भएको पनि छ । तर, अरु विकल्प छैन् ।  झोलुंगे पुलबाट नतरे कि भिमाद बजार घुमेर जानुप¥यो ।’ पुल नबन्दा सेती पारीको समग्र विकासको ढोका नखुलेको उनको भनाइ छ ।

पुलको काम समयमै सक्न सरोकारवालालाई पटक–पटक झक्झकाए पनि सुनुवाइ नभएको भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पुल निर्माणको ढिलाईले यहाँका बस्तीलाई विकासले पछाडि परेको छ ।’

हिउँदमा जेनतन घुमाउरै बाटो प्रयोग गरे पनि बर्खाको बेला मोटरेबल पुलको अभाव बढी खड्कने गरेको वडाध्यक्ष श्रेष्ठले सुनाए ।

मोटरसाइकल, स्कुटरबाहेकका ठूला सवारीसाधन घुमाउरो बाटो हुँदै नजिकको पृथ्वी राजमार्ग र बजारमा पुग्नुपर्ने बाध्यता छ । क्याङ्दी खोला तरेर पुल्चोक हुँदै दुलेगौँडा बजार जाने एउटा विकल्प छ । बर्खायाममा क्याङ्दी खोलाबाट सवारी वारपार नहुदाँ भिमाद बजार हुदैँ राजमार्गमा पुग्ने गरेका छन् ।

पुल निर्माणमा ढिलाइ हुनुमा निर्माण कम्पनीसँगै सडक विभागअन्तर्गतको पुल महाशाखाको पनि दोष छ । भौगोलिक अवस्थाको विश्लेषण नगरीकन महाशाखाले सुरुमा ओपन फाउन्डेसनमा पुलको डिजाइन ग¥यो । पुलको दुईवटा पिल्लरको काम सकेर नदीको बीच भागमा पिल्लर राख्ने क्रममा पानीको वहाव बढी भएपछि डिजाइन परिवर्तन गर्नुप¥यो । डिजाइन परिवर्तनमा पुल महाशाखाले ढिलाइ गरेको थियो । झन्डै डेढ वर्ष पुलको डिजाइन परिवर्तनमा काम रोकिएको सडक डिभिजन दमौली नै स्विकार्छ । अहिले डिजाइन परिवर्तन गरेर पुल पायल फाउन्डेसनमा बन्दैछ । तर, काम भने कछुवाको गतिमा ।

आठ करोड ८० लाख ५० हजार ८ सय ८३ रुपैयाँमा भ्याटवाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पाँच करोड ४२ लाख चार हजार ६ सय ८६ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । यो वर्षको बजेटमा संघीय सरकारले पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्