प्रदेश १ मा भाषा आयोगले त्रुटिपूर्ण सिफारिस गरेको भन्दै यायोक्खाकाे आपत्ति

त्रुटिपूर्ण सिफारिस तत्काल सच्याउन माग

किरात राई यायोक्खाले भाषा आयोगले भाषासम्बन्धी सर्वेक्षण नै नगरी २०६८ सालको जनगणनालाई मात्र आधार मानेर प्रदेश १ को सरकारी कामकाजको भाषा सिफारिस गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

यायोक्खाले आयोगले सरकारी कामकाजी भाषा सिफारिस गर्दा सरोकारवाला समुदायसँग पनि कुनै परामर्श नगरेको उल्लेख गरेको छ ।

यायोक्खाका अध्यक्ष दिवस राई र महासचिव जनक राईले बुधबार एक विज्ञप्ति जारी गरी आफ्नाे त्रुटिपूर्ण सिफारिस सच्याउन आयोगसँग जोडदार माग गरेका छन् ।

आयोगले केही दिनअघि मात्र सातवटै प्रदेशमा सरकारी कामकाजको भाषाका लागि नेपाली भाषा बाहेकका राष्ट्रभाषाहरुलाई सिफारिस गरेको थियो ।

आयोगले प्रदेश १ मा मैथिली र लिम्बु भाषालाई मात्र सरकारी कामकाजको भाषामा सिफारिस गरेको छ । तर प्रदेश १ मा खस–आर्यपछि सबैभन्दा बढी जनसंख्या भएको राई जातिको कुनै पनि भाषालाई सिफारिस गरेन ।

यायोक्खाले राई जातिभित्र २६ वटा भाषाहरु रहेको र जसमध्ये बान्तावा राई भाषा प्रदेश १ को सरकारी कामकाजको भाषा बन्नसक्ने भए पनि आयोगले सिफारिस नगरेको जनाएको छ ।

२०६८ सालको जनगणना अनुसार प्रदेश १ मा १ लाख २० हजार ७९१ जना राई भाषाको वक्ता उल्लेख गरिएको छ ।

तर उक्त संख्या राईभित्रका कुन कुन भाषाका हुन् भन्ने यकिन नगरी आयोगले राई जातिका भाषाहरुलाई छोडेर सिफारिस गरेको यायोक्खाले जनाएको छ ।

‘१ नम्बर प्रदेशमा राई भाषाको वक्ता संख्या १ लाख २० हजार ७९१ जना भनेर उल्लेख छ । यो संख्यालाई बेवास्ता गरिएको कारण राई जातिभित्रका कुनै पनि भाषा सिफारिसमा नपरेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राई भाषाभित्र अधिकांश वक्ता बान्तावा राई हुन सक्ने दाबीका आधारमा बान्तावा र राई भाषाका वक्ता जोड्दा नेपाली भाषाको अतिरिक्त तीनवटा भाषाभित्र पर्न सक्ने हाम्रो दाबी रहेको छ । तर भाषा आयोगले प्रदेश १ मा खस–आर्य समुदायपछिको ठुलो संख्यामा रहेको राई जातिको कुनै पनि भाषालाई प्रतिनिधित्व नगराइनुले संघीयता र समावेशिताको धज्जी उडाउने काम गरेको छ । किनभने विभिन्न प्रदेशहरुमा कतिपय भाषाहरु दोहोरिएका छन् भने आधार पुगेका भाषाहरुलाई लत्याइएको छ ।’
यायोक्खाले भाषा आयोगले आफ्नाे त्रुटिपूर्ण सिफारिस तत्काल नसच्याए संघर्षको कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्