‘लोकतन्त्रमा बहुमतको निर्णय हुन्छ, जनगणनामा ‘राई’ नै लेखाऔं’ : अशोक राई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले यही कात्तिक २५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय जनगणना २०७८ मा जातिको महलमा ‘राई’ नै लेखाउन समुदायमा अनुरोध गरेका छन् ।

किरात राई समुदायका शीर्ष तथा पहिचानवादी नेताको छवि बनाएका उनले लोकतान्त्रिक राजनीतिमा बहुमतको आधारमा निर्णय हुने भएकोले राईहरु विभाजित भएर अल्पमतमा पर्दै कमजोर हुने दिशामा जान नहुने बताए ।

राष्ट्रिय जनगणना सचेतनासम्बन्धी किरात राई यायोक्खाले निर्माण गरेको भिडियो सन्देशमा उनले यो कुरा बताएका हुन् ।

विगतमा सरकारले निर्माण गरेको सूचीकरण कार्यदलले आयोजना गरेको कार्यक्रमहरुमा आफूले यसबारे धेरैचोटि बोलिसकेको उनले स्मरण गरे ।

‘लोकतन्त्रको विशेषतालाई हामीले ध्यान दिनुपर्छ, लोकतन्त्र भनेको बहुमतले निर्णय गर्ने प्रणाली हो,’ भिडियो सन्देशमा उनले भने, ‘यस्तो प्रणालीमा हामीले त्यसको विशेषतालाई नबुझेर आफै अल्पमतमा पर्ने ढंगको व्यवहार गर्यौ भने त्यसले हाम्रो जातिको र हाम्रो सन्ततिहरुको जीवनमा धेरै ठुलो असर पार्दछ ।’

उनले मुलुकको राष्ट्रिय राजनीतिमा कुनै पनि जातिको जनसंख्याले ठूलो महत्व राख्ने बताए ।

कुनै पनि जाति विभाजित हुँदा राष्ट्रिय राजनीतिमा त्यो जातिको राजनीतिक हैसियत कमजोर भएर जाने उनको भनाइ छ ।

‘यस सम्बन्धमा सुचीकरण कार्यदलले आयोजना गरेको भेलाहरुमा मैले धेरैचोटि बोलेको थिएँ । तर पनि पछिल्लो बेला राज्यले राईहरुको बिचमा अल्पसंख्यक बहुसंख्यक आदि ईत्यादि भनेर विभिन्न क्लस्टरको रुपमा विभाजित गर्ने काम गरेको छ । यो सकारात्मक काम भएन भन्ने मेरो व्यक्तिगत ठम्याइ छ,’ उनले भने, ‘तसर्थ १२औं राष्ट्रिय जनगणनामा हामी सबै भाषिक समूहहरुले जो हिजोदेखि राईको पहिचानबाट परिचित थियौं, आफ्नाे पहिचान लेखाउँदा जातिमा राई भनेरै लेखायौं भने विगतमा हामी विभाजित भएको क्षतिलाई पूर्ति गर्न सकिन्छ ।’

उनले जनगणनामा सोधिने मातृभाषा र पुर्खाको भाषाको प्रश्नमा आ–आफ्नाे मातृभाषा, दोस्रो भाषामा नजिक रहेको भाषिक समुदायको भाषा र धर्मको महलमा किरात लेखाउँदा ठीकै हुने बताए ।

उनले धर्मको महलमा किरात लेख्ने चार किरात संस्थाको निर्णय र आफूलाई किरात भनेर गौरव गर्नेहरुले किरात धर्म लेख्ने निर्णय गरेकोमा त्यो ठीक रहेको बताए ।

नेपालमा कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मेरो ‘जनगणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ सञ्चालन हुने भएपछि यायोक्खाले किरात राईहरुको बसोबास रहेको क्षेत्रमा विभिन्न सचेतना कार्यक्रमहरु आयोजना गर्नुका साथै राजनीतिज्ञ, कलाकार, साहित्यकार तथा सामाजिक रुपमा स्थापित व्यक्तिहरुलाई अघि सारेर पनि इन्टरनेट तथा सामाजिक सञ्जालहरुबाट पनि सचेतना अभियान चलाइरहेको छ ।

यायोक्खाको अभियान प्रशंसनीय रहेको नेता राईले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. पूर्व मंन्त्री अशोक ज्युको सुचना र अपिल सुन्दा जातिय पहिचान बारे कोमा भित्रनै हुनुहुदो रहेछ यसरी किरात उत्थान कसरी गर्छ होला ????

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्