मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा निधन भएको छ ।
५६ वर्षीय श्रेष्ठकाे काठमाडौं बासबारीस्थित न्युरो अस्पतालमा आइतबार बिहान निधन भएको हो ।
दुई दिनअघि खोटाङको दिक्तेल बजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले श्रेष्ठलाई ठक्कर दिएको थियो ।
जसका कारण उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि दिक्तेलस्थित फेमिली केयर अस्पतालमा लगिएको थियो ।
उनको थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको उम्मेदवार थिए ।
उनी राप्रपाका पूर्व जिल्ला अध्यक्षसमेत थिए ।
सोही मोटरसाइकलको ठक्करबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई पनि घाइते भएकी थिइन् ।
उनलाई पनि उपचारका लागि न्युरो अस्पतालमा ल्याइएको थियो । हाल उनको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ ।
मोटरसाइकल चालक १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मोटरसाइकल चालक राई घाइते भएकी विष्णुकुमारी राईको छोरा हुन् ।
