खुवालुङको ऐतिहासिक तथा वैज्ञानिक पक्ष

डा. केके राई

पृथ्वीको भौतिक बनावट

हाम्रो पृथ्वीको औषत आयु वैज्ञानिकहरुले ४.५ अर्ब वर्ष मानेका छन् । पृथ्वीलाई बाहिरदेखि भित्र खन्दै जाने हो भने मोटामोटी तीन तह भेटिन्छ । बाहिरी तह जीव वनस्पती बाँच्न सक्ने तामक्रम भएको चट्टान माटोको क्रष्टको तह । त्योभन्दा भित्र जलिरहेको आगोजस्तै ३००० देखि ५००० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको तातो लाभाको रुपमा रहेको मेन्टल भनिने तह, जुन ज्वालामुखीको रुपमा कमजोर भागबाट बाहिर निस्कने गर्दछ । सबभन्दा भित्र अति तातो रेडियोएक्टिभ चुम्बकीय शक्ति भएको ठोस कोर भनिने तह ।

पृथ्वीको बाहिरी छाला वा खोलजस्तै क्रष्ट भनिने तहले पृथ्वीभित्र रहेको भन्दा तातो तरल अवस्थामा रहेको लाभालाई ढाकेर राखेको हुन्छ । यस्तो पृथ्वीको बाहिरी तह वा क्रष्टको बाक्लोपना वा थिकनेस लगभग ५ देखि ३० किलोमिटर रहेको भनिन्छ । अर्गानिक तथा इनर्गानिक तत्वहरुको मिश्रणबाट बनेको बाहिरी क्रष्ट तहमा रहेको ढुङ्गा, माटो, भूमि, जमिनमा जलवायु तथा वातावरण उपयुक्त भएकोले जीव वनस्पती प्राणी तथा वनस्पतीको विकास, विस्तार सम्भव भएको छ ।

मानव यात्रा

सबैभन्दा पहिला मानव जीवन विकास र प्रगतिको हजारौ, लाखौ वर्ष लामो कथा छ भनेर बुझ्न जरुरी छ । सुरुवाततिरको जीवन रचना, अस्तित्वको निम्ति गरिएको संघर्ष, प्राकृतिक, भौगोलिक तथा वातावरणीय विषमतासँग भौतिक आकारमा तालमेल वा एडाप्टेशन मिलाउँदै, प्रिमिटिभ लाईभदेखि अफ्रिकाको होमियस्यपिन्स्सम्म आइपुग्दा हामी मानवले जीवन संघर्षको ठूलाठूला कठिनाइहरु पार गरिसकेका थियौ । त्यसपछि सुरक्षित भूमिको खोजी गर्दै होमोस्यापिन्सहरुले अफ्रिकादेखि पृथ्वीको लामो यात्रा गरेका थिए ।

होमोस्यपिन्स अवस्थामा अफ्रिकाबाट थालिएको विश्व भ्रमणको लामो यात्रापछि अहिलेको विकसित मानव पुस्तासम्म आइपुग्दासम्मको मानव विकासको अनुभव, भोगाइ, बाँच्नको निम्ति गरिएको संघर्ष र सिकाइको विस्तृत इतिहास भौतिक शरीरभित्र डिएनएमा इन्प्रिन्ट वा अंकित गरेर मानव पुस्तौपुस्तामा हस्तान्तर भइरहेको हुन्छ । डिएनएमार्फत् भावी सन्तानहरुमा ज्ञान र अनुभव हस्तान्तरण हुने प्राकृतिक प्रकृयाले स्वभाविक रुपमा मानव वंश विस्तार र संरक्षण हुँदै गएको मात्र होइन, जीवन उपयोगी ज्ञान, सीप र अनुभव थप परिस्कृत हुँदै गएको पाइन्छ । विभिन्न कालखण्डमा समुद्रहरुमा पानीको सतह कम रहेको अवस्था र महादेशहरु एकअर्कामा जमिनले जोडिएको अवस्थामा मानव हुलहरु हिडेरै यात्रा गरेको वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

चित्रमा देखाए जस्तै अफ्रिकादेखि मध्यपूर्व हुँदै झन् झन् सजिलो र सुरक्षित भूमि खोज्दै, सिन्ध नदीले बनाएको मैदान, सिन्ध बेसिन, भारतको गंगा मैदान, चीनको ह्वाङ्गो नदीको मैदान वा येलो रिभर बेसिन आदिमा बसोबास गर्न पुगेको देखिन्छ ।

कृषि युगको सुरुवात भन्दा अगाडि गरिएको मानवको यो महान् यात्रा गंगा बेसिनबाट पनि निरन्तर अगाडि बढ्ने क्रममा कुनै मानव हुल उत्तरपूर्व भारत, आसाम, नागाल्याण्ड, बर्मा, दक्षिणपूर्व हालको थाइल्याण्ड, कम्बोडिया, मलेसिया, इन्डोनेसिया, अस्ट्रेलिया आदि र उत्तरतर्फ लागेका मानव हुल तिब्बेत, चीन र मध्यएसिया, मंगोलिया, पूर्वी रसिया हुँदै उत्तर अमेरिकादेखि दक्षिण अमेरिकासम्म पुगेको कुरा डिएनए ट्रेसिङबाट प्रमाणित हुन्छ । मानवले करिब १० देखि १५ हजार वर्षयता कृषिको सुरुवातपछि मात्र यी यात्राहरु रोकिएको अनुमान गर्न सकिन्छ ।

किरातहरुको पहाड तर्फको यात्रा

गंगा बेसिनबाट एक हुल मानव गण्डकी र कोशी नदीको शाखा नदीहरु अरुण, तमुर, दुधकोशी, सुनकोशी, भोटेकोशी पछ्याउँदै पहाडतर्फको यात्रा गरेर त्यतै बसोबास गरेको भन्ने आधारहरु छन् । पहाड हिमालतिर बसोबास गर्ने मानव हुल नै किरात मतवाली र हाल आएर जनजाति भनिएको भन्ने वैज्ञानिक आधारहरु पनि भेट्न सकिन्छ ।

अरुण, दुधकोशी आसपास फैलिएका किरातका पुर्खाहरुले बासस्थानको निम्ति हलेसी गुफा प्रयोग गरेको र हलेसी तुवाचुङ भूमिमा शिकारी जीवनबाट थप जीवन उपयोगी ज्ञान सीप सिक्ने क्रममा ढुकुरको आन्द्रा फालेको ठाउँमा कोदो फलेको र कोदोको भोजन बन्न सक्ने ज्ञान प्राप्त भएपछि कोदोलाई डोमेस्टिकेशन गर्दै कृषि युगको सुरुवात गरेको साथै कपासबाट धागो र धागोबाट कपडा बुनेर शरीर ढाक्न थालिएको मौखिक इतिहासहरु सुनिदै आएको छ । हाल हलेसी तुवाचुङमा चट्टान ढुङ्गाको तानहरु देख्न पाइन्छ ।

खुवालुङबारे किरातहरुको सांस्कृतिक ऐतिहासिक धारणा

किरात पुर्खाहरुले आफ्नो जिवनले सिकेका भोगेका सिकाइ, भोगाइका ज्ञान, अनुभवहरु आउने भावी पुस्ताको निम्ति सिकाउनका निम्ति लिखित गर्ने प्रविधि वा कागज कलमको विकास नभएको कारणले मौखिक ज्ञान भण्डारको रुपमा लयबद्ध गरि मुन्दुमी ज्ञान हस्तान्तरण गर्दै आएको देखिन्छ ।

आज पनि नोक्छुङ धामीहरुले लयबद्ध गरि मुन्दुम गाउने गर्दछन् । खासगरि मुन्दुममा मानव जीवन दर्शन, मानव संघर्ष र यात्रा इतिहास, सिकाइ भोगाइबाट निकालिएको शिक्षा वा जीवन उपयोगी काम कर्तब्यहरु उल्लेख गरिएका हुन्छन् ।

लामो यात्राको क्रममा नदी पछ्याउँदै जाँदा पहाड भित्रिने बेला, अहिलेको अवस्था जस्तो व्यापक चौडा नफैलिएको नदी, त्यस कालखण्डमा साँगुरो कोशी नदीको बिचमा रहेको विशाल ढुंगा खुवालुङ मानव यात्रामा प्रमुख चुनौती रुपमा रहेको भन्ने मुन्दुममा बारम्बार उच्चारण गरिन्छ । यस्तो चुनौती पार गर्नको निम्ति त्यसताकाको मानव प्रविधि, तान्त्रिक विधि, अनुष्ठान स्तुति, जुरेली पंक्षीको भोग दिएर शक्ति आर्जन गरेपछि ढोका खोलिएको भन्ने मुन्दुमले संकेत गरेको भनिएको छ ।

खुवालुङ

खुवालुङ कुन वर्गको ढुङ्गा हो ?

मोटामोटी रुपमा पृथ्वीको ढुङ्गा तीन प्रकारका हुन्छन् । इग्नियस, मेटामोर्फिक र सेडिमेन्टरी । अति तातो लाभा ज्वालामुखीको रुपमा बाहिर आउँदा सेलाएर ठोस रुप धारण गरेको पत्थरहरु इग्नियस र मेटामोर्फिक ढुङ्गा वर्गमा पर्दछन् भने हाइपे्रसर र तापक्रमको पेलाइबाट सेडिमेन्टरी ढुंगाले आफ्नो आकार लिएका हुन्छन् । कोशीको पानीको निरन्तर बहाव र सालसालैको विशाल बाढी र पानीको निरन्तर प्रेसरले खुवालुङको माथिल्लो भाग इरोजन हुँदै खिएर गए पनि लाखौ वर्षदेखि भेल झेल्न सक्ने खुवालुङ मेटामोर्फिक वर्गमा पर्ने कडा चट्टान हो भन्न सकिन्छ । खुवालुङ पृथ्वीको क्रष्टको निकै गहिराइसम्म फैलिएको विशाल चट्टानी ढुंगा हो भनेर अनुमान गर्न सकिन्छ । वातावरण संरक्षणको हिसाबले पृथ्वीको क्रष्टको गहिराइसम्म फैलिएको यो विशाल खुवालुङ हटाउने फुटाउने कुरा वैज्ञानिक मान्न सकिदैन ।

ढुङ्गामा प्राण प्रतिष्ठानको प्रचलन र धार्मिक, सांस्कृतिक आस्था

ज्ञान, तप वा तान्त्रिक साधनाबाट ढुंगामा शक्ति प्राण प्रतिष्ठान गर्ने प्रचलन धेरै धर्म संस्कारहरुमा प्रचलित छ । यसै प्रचलनले गर्दा कालान्तरमा, विभिन्न धर्म समुदायहरुमा आ–आफ्नो धार्मिक परम्परा र सांस्कृतिक, धार्मिक आस्थाको रुप लिएको पाइन्छ । किरात पूर्खाहरुले नदी पछ्याउँदै पहाडतर्फ लाग्ने यात्रा सहज गराउन खुवालुङको पूजाआराधनाबाट शक्ति आर्जन गरेको मौखिक ज्ञान भण्डार मुन्दुममा उल्लेख भएकोले खुवालुङलाई आफ्नो धार्मिक सांस्कृतिक आस्थाको केन्द्र मान्ने गरेको देखिन्छ ।

मुस्लिमहरुले साउदी अरबीयाको मक्का मदिनास्थित धार्मिक स्थलमा रहेको सङ्गे अस्रत नामको पवित्र ढुङ्गालाई हज गर्न जाँदा चुम्ने गर्दछन् । मक्का मदिना, धार्मिक स्थलको सङ्गे अस्रत भनेको मुस्लिमहरुले भत्काएको तोडेको पुरानो शिव लिङ्ग नै हो भनेर मान्नेहरु पनि छन् ।

रामायणमा रामले रावणमाथि विजय हासिल गर्न रामेश्वरमा ढुङ्गाको शिव लिङ्ग बनाएर पूजाआरधना गरि शक्ति माग्नुभएको कथा प्रचलित छ । त्यसपछि हिन्दूहरुले मन्दिर बनाउँदा ढुङ्गालाई शिव लिङ्ग बनाएर मन्त्र शक्तिबाट प्राण प्रतिष्ठा गरि शक्तिपीठ बनाइ पुजा गर्ने प्रचलन पाइन्छ ।

काठमाडौंको पशुपतिको ढुङ्गाबाट बनेको शिवलिङ्गमा भारतबाट झिकाइएका शंकराचार्यबाट प्राण प्रतिष्ठा गरेपछि पूजाआरधना थालिएको इतिहासबाट प्रष्ट हुन्छ । हालसालै वर्तमान भौतिकवादी कम्युनिष्ट प्रधानमन्त्री खड्ग ओलीजीले अरबौ रुपैयाँ बराबरको सुन पशुपतिमा चढाएको खबर सूचना सार्वजनिक भएको थियो । त्यसैले सबैसबै जातजाति, धर्म, समुदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथि हमला नगर्नु नै बुद्धिमानी हो भन्न सकिन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्