किन चाहियो हिन्दु राष्ट्र ?

राज्य धर्मका मामलामा तटस्थ बस्नुपर्छ

टिभीमा धर्मको बहस हेरिन्छ । पत्रपत्रिकामा त्यस्तै कुरा पढिन्छ । रेडियोमा प्राय: यस्तै विषयवस्तु सुनिन्छ । कोही भन्छन् मुलुक धर्मसापेक्ष हुनुपर्छ । कोही चाहिँ अहिले जे छ, ठिक छ भन्छन् । उनीहरूको मत छ, मुलुक धार्मिक निरपेक्ष नै हुनुपर्छ ।

नेपालको संविधान २०७२ मा नेपाल धर्मनिरपेक्ष राष्ट्र लेखिएको छ । सबै धर्मावलम्बीले आफ्नो धर्मको अभ्यास गर्न पाउने उल्लेख गरेकै छ !

परम्परादेखि चलिआएको आफ्नो रीतिरिवाज, मूल्य-मान्यताप्रति अरूले हस्तक्षेप गर्न पाउँदैनन् भनेर लेखिएकै छ ! धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ ।

यसलाई उपलब्धि मान्नुपर्छ । किनभने राज्यको धर्म हुँदैन । एउटा धर्मलाई घरभित्र हुलेर अरूलाई बलेँसीमा राख्न उचित हुँदैन ।

सबै धर्म राज्यका अङ्ग हुन् । कसैलाई काख र कसैलाई पाखा लाउनु हुँदैन । त्यसैले नेपाल धर्मनिरपेक्ष राष्ट्र नै रहनुपर्छ ।

हिन्दु राष्ट्र भनेर उल्लेख गरिरहनु पर्दैन । निरपेक्ष रहनु भनेको धर्मप्रति वास्ता नगर्नु चाहिँ होइन । सबै धर्मलाई समान दृष्टिले हेर्नु हो । संरक्षक हुनु हो । राष्ट्र सम्पूर्ण धर्मको अभिभावक हो ।

कतिको तर्क छ- ८० प्रतिशतमाथि हिन्दु भएको देशमा हिन्दु राष्ट्र हुनुपर्छ । मुलुक हिन्दु धर्म सापेक्ष बन्नुपर्छ । यो तर्क मलाई ठिक लाग्दैन ।

यसो गर्दा राष्ट्रले धर्मको आड लिएको ठहर्छ । अरू धर्मप्रति उपेक्षा गरेको देखिन्छ । पक्षपातपूर्ण व्यवहार ठहर्छ । सौतेनी व्यवहार जस्तो लाग्छ ।

राज्य धर्मका मामलामा तटस्थ बस्नुपर्छ । तर, कुनै धर्मले अर्को धर्ममाथि अतिक्रमण पो गर्दैछ कि भन्ने कुरामा चाहिँ चनाखो रहनु पर्छ । अमूक धर्म चाहिँ राष्ट्रिय धर्म हो भन्नु मनासिव छैन ।

धर्म विश्वास हो । संस्कृति हो । चल्दै आएको मान्यता हो । अनुशासनमा राख्ने मानव निर्मित अदृष्य हतियार हो । साधन हो । सत्य भेट्ने बाटो चाहिँ हो । तर सत्य भने होइन ।

मनको सन्तोक मात्र हो । भनिन्छ धर्म सिद्ध सत्य होइन ।

धर्मकोको उद्देश्य मुक्ति हो ! आदर्श जीवन जिउनु हो । लोक कल्याणकारी कार्य गर्नु हो । बाँचुन्जेल असल काम गरेर मरेपछि मुक्ति पाउँनु हो ।

मुक्ति मिल्छ मिल्दैन, पुनः जन्म हुन्छ, हुँदैन भने कुरा भरोसा मात्र हो । देखेको कसैले छैन । त्यस्तो मुक्ति भोगेर कोही आएको छैन । मात्र विश्वास छ ।

नेपाल धर्मनिरपेक्ष देश भइसकेको छ । अब धर्मको बखेडा झिक्न आवश्यक छैन । बरु संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ ।

नेपाल धर्मनिरपेक्ष घोषित भइसके पछि हिन्दु धर्ममाथि कसैले पनि केही क्षति पु‍‍र्याएकाे छैन ।

मलाई त्यस्तो लाग्दैन । एकाध ठाउँमा मन्दिर नजिक चर्च बने होलान् । त्यो सामान्य कुरा हो । आपसी छलफल गरेर सम्झौतामा पुग्न सकिन्छ । उनीहरूको आस्थाको पनि हामीले सम्मान गर्नुपर्छ ।

मुलुक संघीयतामा गइसकेपछि कैयौं मन्दिर बनेका छन् । देविथान, वायुथान र देवालीथानहरू नयाँ ठडिएका छन् ।

कतिपय जिर्णोद्धार भएका छन् । स्थानीय सरकारले जनताको आस्थासित जोडिएको विषय भनेर ड्याङ कि ड्याङ बजेट दिएकै छ । टोलैपिच्छे जस्तो शिव मन्दिर छन् ।

त्यसैगरी ठाउँ ठाउँमा कृष्ण मन्दिर बनेका छन् । ठाउँ ठाउँमा यज्ञयज्ञादि अनुष्ठान चलिरहेका छन् । मठाधीशहरूले आफ्नो धार्मिक आस्था स्वतन्त्र उपयोग गरिरहेका छन् ।

सार्वजनिक स्थलहरूमा महापुराण जस्ता उच्च स्तरका धार्मिक कार्य भएका छन् । अरू धर्मावलम्बीबाट कुनै कतै बाधा व्यवधान आएको छैन ।

म आफैले पनि भर्खरै ठुला ठुला तीनओटा धार्मिक अनुष्ठान सिद्ध्याएँ । उहाँहरू जो अन्य धर्मावलम्बी हुनुहुन्थ्यो, मलाई सफलताको शुभकामना दिनुभयो ।

त्यसैले अब नेपाल हिन्दु धर्म सापेक्ष राष्ट्र हुनुपर्छ भन्ने मुद्दामा कोही नलागौं । यसको तुक छैन ।

अब कुरा गर्ने बेला चाहिँ धार्मिक सहिष्णुताको हो । जातीय एकताको हो । साम्प्रदायिक सद्भावको हो । विश्वबन्धुत्वलाई प्रगाढ पार्ने बेला हो ।

आआफ्नो धर्मको निर्बाध रूपले अभ्यास गर्ने हक सबैलाई हुनुपर्छ । धर्ममा अल्पसंख्यक र बहुसंख्यक भनेर सीमांकन गर्नु राम्रो होइन ।

कसैको भनाइ चाहिँ के छ भने विश्वमा नेपाललाई हिन्दु राष्ट्र भनेर चिनाउनुपर्छ । एक मात्र हिन्दु राष्ट्र ! त्यसरी किन चिनाउनु ?

नेपाल बहुधार्मिक देश हो भनेर चिनाउने । सबै धर्मलाई समान महत्त्व दिएको छ भनेर चिनाउने । धार्मिक स्वतन्त्रता छ भनिदिने । अहिलेकै अवस्थामा रहन दिने ।

गौतम बुद्ध जन्मेको देश नेपाल हिन्दु राष्ट्र सापेक्ष मुलुक बनाउनु सुहाउने विषय होइन ।

शम्भु निरौला
कालिकादेवी मावि पन्चन
थुलुङ दुधकाेशी गापा-३, साेलुखुम्बु ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्