जसपा नेतृत्वलाई अनुरोधः वैकल्पिक शक्ति बनाउन सही निर्णय गर्नुस्

जसपाका उच्च नेतृत्वलाई विनंम्र अनुरोध ।
जनता समाजवादी पार्टी, उत्पीडित जाति समुदायका व्यक्तित्वहरुको नेतृत्वमा गठित वैकल्पिक पार्टी हो । जसले सबै वर्ग, क्षेत्र, जाति र समुदायको सम्मानजनक पहिचान र समान सहभागिताको लागि ग्यारेन्टी गर्दै समुन्नत समाजवादी व्यवस्थाको नीति लिएको छ ।

यति पवित्र भावना लिएर इतिहासमै उत्पीडित जाति समुदायको नेतृत्वमा बनेको र देशको तेस्रो र चौथो पार्टीको बन्नु यो सबै उत्पीडित जनताको गौरवको विषय पनि हाे । यति हुँदा-हुँदै केपी ओलीले गरेको कु त्यस विरुद्ध हामीले गरेको आन्दोलनको बलले संसद पुनःस्थापनपछि आफ्ना माग र मुद्दा कसरी अगाडि बढाउने भन्ने विषयमा मत भिन्नता पार्टीका शीर्ष नेताहरूमा देखिएको छ ।

पार्टीभित्र भिन्नभिन्न तर्क राखेर पार्टीका नेताकार्यकर्ता साथै सिङ्गो देशलाई अग्रगामी दिशानिर्देश गर्न विभिन्न तर्क योजना बन्नु भनेको पार्टीलाई गतिशिलतामा अगाडि बढाउनु हो । यसलाई अन्यथा लिनुहुन्न । कुरा कहाँनेर हो भने उत्पीडित समुदायको नेतृत्वमा बनेको हामी जनता समाजवादी पार्टी नेपाललाई भित्री बाहिर शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्नु नदिने शक्तिहरु हिजोका तिनै पुरातनवादी यथास्थितवादी पार्टीहरुलाई निकै ठुलो चुनौती हो । यस्तो बेला नानाथरी आरोप प्रत्यारोप लोभलालच धाकधम्की जुनसुकै शक्ति प्रयोग गरेर होस्, एक ढिक्का हुन नदिनु तिनीहरुको धर्म नै हो । बाँदरले आफू पनि घर बनाउँदैन, अरुले बनाएको पनि भत्काइदिन्छ भनेझैं पुरातनवादी ब्राह्मणवादी पार्टीबाट ग्रसित एमाले कांग्रेस माओवादी सबै एकै बाँदरे प्रवृत्तिका हुन् । अब यिनीहरुले देशको विकास र समृद्धि गर्न सक्दैनन् । न त यिनीहरु आफू राम्रो गर्छन् न अरुलाई राम्रो गर्न दिन्छ ।

वर्तमान राजनीति विषम् परिस्थितिमा अल्झिएको छ । केपी ओली सत्ता र शक्तिको उन्मादमा रगत पिएर मातेको बाघझैं सत्ता र शक्तिको दुरुपयोग गर्दै अर्धपागलपन देखाउँदै कहिले बाघलेझै झम्टने त कहिले मर्न लागेको बिरालोझै म्याउम्याउ गर्दै विपक्षी पार्टीसँग हारगुहार गर्दै ढोकाढाेका चाहार्दै हिड्ने गरेका छ्न् । केपी ओलीको अर्धपागलपन कांग्रेस नेताको अनिर्णयको बन्दी, ढिलासुस्ती र माओवादीको तातै खाउ जलिमरौ बेहोसी कार्यनीतिका कारण देशमा राजनीतिक संकट आएको छ ।

यस्तो बेला उत्पीडितहरुको नेतृत्वमा बनेको जसपा नेपालले बढी नै बुद्धिमताका साथ देशीविदेशी शक्तिको खेलबाट जोगिएर ठीक समयमा पार्टीलाई एक ढिका बनाइ बैकल्पिक शक्तिको रूपमा उभ्याउन पर्दछ । तर केही समयबाट जसपाभित्र देखिएको मतभेदले पार्टीभित्रका आम नेताकार्यकर्ता र शुभचिन्तक सबैलाई गम्भीर बनाएको छ । कहीकतै पार्टी त फुट्दैन ? बैकल्पिक शक्ति त बन्दैन कि क्या हो ? बनाउन सकिन्न कि क्या हो ? यावत् प्रश्न उब्जाएर धेरै नेता कार्यकर्ता निराश छ्न् । यस्तो बेला पार्टीका शीर्ष नेतृत्व तत्काल समाधानका लागि एकाअर्काकाे शंका-उपशंकालाई हटाइ विश्वास र भरोसाका साथ संवादको थालनी हुनुपर्दछ ।

जसपा नेपालकाे उच्चतम् नेतृत्व पदाधिकारी बिचको छलफल संसदीय दल, कार्यकारी समिति हुँदै नभए केन्द्रिय समितिको समेत बैठक बोलाइ ठोस गरिनुपर्छ । सकेसम्म पदाधिकारीहरुको तत्काल बैठक बसी सहमति र सहकार्यका आधारमा जसपाले वर्तमान राजनीतिको विषम् परिस्थितिलाई सही निकास दिनुपर्दछ । आपसमा आरोप प्रत्यारोप गरेर तिनै पुरातन र यथास्थितिवादी पार्टीलाई मौका दिनुहुन्न । मौकामा हिरा फोर्नु बेमौकामा कौडी समेत नफोर्नु भनेझैं अहिले हाम्रो पार्टीको उच्च नेतृत्व जो कोहीले एकाअर्कालाई सहेर जनता र राष्ट्रको हितको लागि र उत्पीडित जनताको नेतृत्वमा पनि देशलाई सही दिशानिर्देश गर्न सकिन्छ है भन्ने सन्देश दिन एक हुनुको विकल्प छैन । यो विषयलाई पार्टीको उच्च तहका आदरणीय नेतालाई विनम्र अनुरोधका साथ ध्यानाकर्षण गर्न चाहान्छु ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्