पूर्वी नेपालका समस्याहरुले राष्ट्रकाे बारेमा गम्भीर बनाएको छ । मजस्ता देशभक्तहरुलाई जो राजनीतिका नाममा भाँडभैलोको बिरोध गर्छन् र राजनीतिलाई चटक ठान्दैनन्, यी समस्याले राष्ट्रकाे भोलि सुरक्षित छैन भन्ने देखाउँछ ।
१. आर्थिक मन्दीले जनताको जीवन समग्र प्रभावित छ । भाडामा चलेका दुकान, होटल, रेस्टुरेन्ट र स-साना उद्यम चलाएका स्वोरोजगारहरु बिस्थापित हुँदैछ्न् । यस्तो संकटको अवस्थामा तपाईं राजनीतिक दलहरुले सत्ताका लागि गरेका राजनीतिप्रति आम जनता असन्तुष्ट मात्र होइन क्रोधित छ्न् । यो मन्दीलाई सम्बोधन गर्ने कुनै उपायका बारेमा तपाईंहरुको सम्भ्रान्त क्लब संसदले किन छ्लफल नगरेको होला ? तपाईंहरु त जुहारीमा समय बिताइरहनुभएको छ ।
२. झापा, मोरङ, सुन्सरी र इलामका सहर र बस्तीसम्म लागुऔषधले पुरै ग्रस्त पारेको छ । दुःख लाग्यो देख्दा, बाबुछोरा दुबै दुर्ब्यसनी छ्न् । कुनाकुनामा यो समस्या पुगेको छ । केही युवाहरुको आकलनमा यो समस्याबाट २५ प्रतिशत परिवार प्रत्यक्ष प्रभावित भएका छ्न् । सासंद र सभासदज्युहरुले यो समस्या समाधान गर्न के गर्नुभयो ? के लोकतन्त्रको भविष्यप्रति चिन्तित हुन्हुन्छ ?
३. जग्गा बेच्यो र काम गर्न बिदेश गयो । कमाएर ल्यायो थोरै, र प्लटिङकाे जग्गा किन्यो । फेरि काम गर्न गयो । छोराछोरी निजी स्कुलमा छ्न् । श्रीमतीले लघुवित्तको ॠण लिएर उद्धम गर्न खोजिन् । ब्याजले त्यही प्लटिङकाे जमिन पनि उड्यो । यस्तो लुटतन्त्रलाई लोकतन्त्र भन्दै कसैलाई भोट हाल्नुपर्ने र माननीय भन्नुपर्ने अवस्थामा आज देशलाई तपाईंहरुले पुर्याउनुभाे ।
४. सार्वजनिक स्कुल लथालिङ्ग छ्न् । स्कुलका बुढा प्रधानाध्यापकले वडाअध्यक्षको हप्की खानुपर्छ । सबै सार्वजनिक संस्थाहरु मासिए । सडकमा जताततै पिच त लाग्यो, खेत रोप्ने जग्गामा सिमेन्ट र फलाम रोपेर घर त बने । तर ती घरमा दुईजना बुढाबुढी मात्र छ्न् । खेत बाँझो छ । घरमा बिवाह हुँदैन । पार्टी प्यालेसमा हजारलाई खुवाउनुपर्छ । दाइजो अनिवार्य भयो । हल्दी र मेन्दीका रसमले हामो सामाजिक संस्कृति समाप्त पार्यो । गाउँ गाउँमा चर्च बेनेका छ्न् । हिन्दुबाबु र कृश्चियन छाेराकाे बिचमा युद्ध चलेको छ । यी सबै सामाजिक समस्याको दवाइ छ यो कथित लोकतन्त्रसँग ?
५. मानिसको जीवन ब्यापारी अस्पतालको बजार बनेको छ । दुर्गा प्रसाइँको अस्पतालले मेडिकल कलेजको मान्यता पाएन । दिन्छु भनेर सबै नेताले फाइदा लिए । उनी पनि कलेज र राजनीतिको मालिक बन्ने सपनामा लठ्ठिए । तर उनले झापामा राम्रो अस्पताल त ल्याए । र उनलाई खेद्नुपर्ने कारण त छैन । एक जना डाक्टर सापकाे हडतालले एउटा अजिङ्गर संस्था जन्मायो- चिकित्सा शिक्षा आयोग । यसले कलेज खोल्न पनि दिँदैन, आफू पनि खोल्दैन । अनि विद्यार्थी सबै सिमाना पारी । यसलाई पनि लोकतन्त्र नै भन्ने हो ?
६. बाटाका छेउमा लकडी कुहिएका छ्न् जताततै । खात लगाएर राखीएका छ्न् । जंगलमा रुख सुकेका छ्न् लडेका छ्न् । तर मलेसियाबाट काठ आयात हुन्छ । गाउँ गाउँमा फर्निचर उद्याेग चल्न सक्छ । तर कर तिर्दा तिर्दै ॠणमा डुब्नुपर्ने अवस्था छ । झापाका चिया बगान लिलाम गरिए । एउटा ब्यापारीले मुनाफा गरिरहेको छ । बगानको संरक्षणमा कुनै लगानी गर्दैन । बगान मासिदैछ्न् । एक जमानामा गौरव ठानिएको इलाम चिया बगान आज भुतवन बनेको छ । यही हो लोकतन्त्र ?
७. नागरिकमाथि करको बोझ लादेर राज्य र राजनीति दल ऐसआरम गरिरहेका छ्न् । मानौ, एउटा प्राध्यापक ७० हजार तलव पाउँछ । उसकाे जीवन बाँच्ने स्राेत यही हो । उसले ७० हजारमा १५ प्रतिशत आयकर तिर्छ । उसले परिवार पाल्न चामल दाल किन्छ र १३ प्रतिशत भ्याट तिर्छ । अर्थात् उसले आधा तलब आफ्नो लागि र बाँकी करबाट राज्यलाई तिर्छ । यही हो लोकतन्त्र ?
यी लाक्षणिक समस्या हुन् । जनताको जीवन नर्क बनाएर यो आयातित लोकतन्त्र बाँचेको छ । शासन गर्ने राजनीति दलहरुसँग कुनै बिचार छैन । केवल सत्ताको लडाइँ छ । कमिसन र भ्रष्टाचारकाे खेल छ । अर्थतन्त्र एक दर्जन ब्यापारी र नेताको नियन्त्रणमा पुगेको छ । गरिबले तिरेको करमा राज्य चलेको छ । महँगाे गाडी चलेका छ्न् । राज्य कर्पोरेट भ्रष्टाचारकाे चंगुलमा छ । झापा माेरङमा नेपाली जनताले कमाउने उत्पादन उद्याेग छैन । तर पाँचतारे होटल थुप्रै भएछ्न् । एकजना किसान भन्छ्न्- यही होटलमा ठुला नेताहरु बस्नुहुन्छ । लुटतन्त्र वा केल्पटोक्रेसी यही होइन र ?
८. केही संकथनहरु यस लुटतन्त्रले निर्माण गरेको रहेछ ।
क. राजनीतिमा स्थायी मित्रु शत्रु हुँदैन ।
ख. युवा आए भने अहिलेको विकल्प हाे ।
ग. नेताले सेलिब्रेटी हुनुपर्छ ।
घ. राम्रो नेता हुन हार्वड पढेको हुनुपर्छ ।
ङ. विकास भनेको अग्लो भवन र पिच बाटो हो ।
९. यिनै संकथनले नेपालको बिसर्जन गर्नेछ्न् एकदिन यदि
क. राज्य व्यवस्थाकाे संचालन गर्ने “प्रायोजनिक (प्र्यागमेटिक) बिचारबाट राजनीति, विकास र राष्ट्रिय सुरक्षा निर्देशित भएन भने ।”
ख. “राज्यले उत्पादन, औद्योगिकरण र व्यापारकाे उन्नयनमा केन्द्रीय भूमिका खेलेन भने ।”
ग. “शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यले दायित्व बोकी लोकतन्त्रलाई सामाजिक नागरिकतन्त्रमा रुपान्तरण गरेन भने ।”
घ. “निजी र सहकारी अर्थतन्त्रलाई सार्वजनिक अर्थतन्त्रले नेतृत्व गरेन भने ।” र
ङ. “शिक्षित नागरिकले आफ्नै स्वार्थको घेरा र देशका समस्या देखेनन् भने ।”