१. भर्खरै देशमा जे भयाे, नेपालमा मात्रै भएकाे कुनै नाैलाे र अनाैठाे घटना हैन, सन् २०१० यता विश्वका करिब २ दर्जन देशमा यस्ताे विद्राेह भइसकेकाे छ। यसलाई युवा विद्राेह वा शहरिया जनविद्राेह भनिन्छ।
२. सन् २०१० ट्युनिसियाबाट यस्ताे विद्रोह हुन थालेकाे थियाे, जाे अरब विद्राेहकाे शुरुवात बनेकाे थियाे। दक्षिण एशियामा नेपाल अघि श्रीलंका र बंगलादेशमा यस्ता विद्राेह भइसकेकाे हामीले सुनेकै छाैं।
३. यस्ता विद्राेहकाे मुख्य कारण कुशासन, भ्रष्टाचार, अति दलीयकरण, विभेद, पक्षपात, परिवारवाद, आर्थिक असमानता, वित्तीय संकट, मुठ्ठीभर मानिसद्वारा लाेकतन्त्रकाे नाममा राज्य कब्जा र राज्य दाेहन हाे। समग्रमा दलतन्त्र, नेतातन्त्र, अल्पतन्त्र र सिन्डिकेटतन्त्र हाे। नेपालमा पनि यही भएकाे हाे।
४. यस्ता विद्राेह सामान्य संवैधानिक दायराभित्र हुँदैनन्। किनकि, कुनै पनि देशकाे संविधानमा बिद्राेह, आन्दोलन र क्रान्तिकाे कल्पना गरिएकाे हुँदैन।
संविधानका धारा पढ्दा याे असंवैधानिक नै हुन्छ । तर, संविधानकाे मर्म र भावना भन्दा बाहिर हुँदैन। किनकि, राज्यसत्ताकाे अन्तिम अधिकार जनतामा, सार्वभौमसत्ता नागरिकमा हुन्छ भनेर संविधानले स्वीकार गरेकै हुन्छ।
नागरिक सर्वाेच्चताकाे सिद्धान्तमा नागरिक विद्राेहकाे अधिकार पनि पर्दछ। तसर्थ, याे प्रकारान्तले संवैधानिक र संविधानवाद अनुरुप नै हाे।
५. यस्ता विद्राेहकाे उद्देश्य लाेकतन्त्रलाई क्षति पुर्याउनु हैन, अझ सघनीकरण गर्नु हाे। लाेकतन्त्रकाे लाेकतान्त्रिकरण गर्नु हाे। यसलाई लाेकतन्त्रकाे चाैथाे लहर पनि भनिन्छ।
बेलायतकाे गाैरवमय क्रान्तिदेखि पहिलाे विश्वयुद्धसम्म पहिलाे लहर, पहिलाे विश्वयुद्धपछि देखि सन् १९७० सम्म दाेस्राे लहर, सन् १९८०-९० मा एकदलीय कम्युनिस्ट प्रणालीकाे पतन तेस्राे लहर, र सन् २०१० यताका बिद्राेह चाैथाे लहर हाे।
६. यस्ता बिद्राेहपछि लाेकतन्त्र अझ सुदृढ र नागरिकतन्त्रमा रूपान्तरण हुने संभावना बढ्छ। जस्ताे श्रीलंकामा नयाँ चुनाव भइसकेकाे छ। बंगलादेशमा चुनावकाे मिति घाेषणा भएकाे छ। नेपालमा पनि नयाँ चुनाव हुन्छ।
७. तर, नयाँ चुनावमा नयाँ दल र नयाँ नेताकाे उदय हुन सकेन, पुरानै अनुहार र दल फर्किएर आए भने त्याे दुर्भाग्य सावित हुनेछ।
जनबिद्राेह असफलतामा पुग्नेछ। तसर्थ, अब तीब्र रूपमा नयाँ राजनीतिक अभियान र ध्रुवीकरण हुनुपर्छ। निर्वाचनले पुराना दल र नेतालाई सधैका लागि बिदा गर्न सक्नुपर्छ। हामी सबैकाे ध्यान अब त्यता लगाउँ।
(डम्बर खतिवडाकाे फेसबुकबाट।)



