परीक्षार्थीको भौगोलिक अवस्था
ग्रामिण क्षेत्रमा एउटा विद्यार्थी सवारी साधनको सुविधाबाट वञ्चित भएकै कारण विद्यालयसम्म पुग्न लगभग २ देखि २.३० घण्टा पैदल यात्रा गर्नुपर्छ।
सातौँ घण्टीसम्मका किताब र कापीको तौल लगभग ५/६ केजी बोकी दिनदिनै विद्यालय जान्छन्।
विद्यालय जसोतसो गरी पुगेर पढेका कक्षा १० का विद्यार्थी नै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी हुन परीक्षा केन्द्रमा पुग्नुपर्ने हुन्छ।
आफ्नै वडाको विद्यालय पुग्न २ देखि २.३० घण्टा लाग्दा जिल्लाको गाउँपालिकासम्म पुग्न पैदल यात्राको कल्पनासम्म गर्न सकिँदैन।
स्थानीय सरकारले विकासका पूर्वाधार निर्माणमा सडक विस्तार राम्रोसँग गरे पनि त्यसको उपभोगको सुविधा सबै मानिसले पाएका छैनन्। हुनेखानेले निजी सवारी साधन प्रयोग गरेका छन् भने निम्न वर्गका मानिसहरू सडकमा गुड्ने सवारी साधन टुलुटुलु हेर्न बाध्य छन्।
परीक्षार्थीको मानसिक अवस्था
SEE परीक्षा राष्ट्रिय स्तरको परीक्षा भएकाले यसलाई अहिलेसम्म पनि “फलामे ढोका” भन्ने चलन यथावत रहेको पाइन्छ।
परीक्षा दिनका लागि परीक्षार्थीहरू विभिन्न वडाबाट परीक्षा केन्द्र तोकिएको गाउँपालिकातिर जान्छन्।
नेपालको भौगोलिक अवस्था निकै चुनौतीपूर्ण रहेकाले सवारी साधन भनेको बेला पाउन निकै कठिन हुन्छ। विभिन्न मुख्य सडक र शाखा सडक खोली रामेछाप जिल्लाका हरेक गाउँपालिकामा पुग्ने सडक निर्माण भएता पनि सवारी साधन पाउन निकै कठिन भएको देखिन्छ। यस्तो समस्या रामेछापको मात्र नभई नेपालका अधिकांश जिल्लाको अवस्था उस्तै देखिन्छ।
सवारी साधन अभावका कारण उत्साहित मनसँगै परीक्षार्थीहरू अटाई–नअटाई एउटै साधनमा २ देखि ४ घण्टाको यात्रा गर्न बाध्य छन्।
साथै उनीहरू मोसन सिकनेससँग जुध्न पनि बाध्य हुन्छन्। यसरी कष्टकर यात्रा पार गर्दै परीक्षा दिन शारीरिक र मानसिक यातना सहँदै परीक्षार्थीहरू परीक्षा केन्द्रमा पुग्छन्। उत्साहसँगै थकित शरीर, थुप्रै मानसिक तनाव र आर्थिक बोझका साथै परीक्षा दिन अभ्यस्त छन् ग्रामीण भेगका परीक्षार्थी।
परीक्षार्थीलाई आर्थिक भार
SEE को परीक्षामा परीक्षार्थीहरू परीक्षा केन्द्रमा सहभागी हुन जाँदा उनीहरूको ठूलो रकम खर्च हुन्छ।
गाडीमा आवतजावतको भाडा, परीक्षाको अवधिसम्म बस्दा लाग्ने कोठा भाडा, खाना र खाजा खर्च गरी ठूलो राशि सकिन्छ। यही परीक्षाको मौका छोपी परीक्षा केन्द्रका व्यापारीहरू पनि नाफा कमाउन तल्लीन हुन्छन्। यो बेला साविकको भन्दा अलिकति महँगी बढ्छ। माग बढ्दा मूल्य पनि बढेझैँ त्यस ठाउँमा परीक्षा केन्द्र तोकिएकै बेला माग बढ्छ र मूल्य पनि सँगसँगै बढ्छ।
यो समयमा ७ देखि ८ दिनको अवधिमा परीक्षार्थीहरूले प्रति व्यक्ति रु ५००० देखि १०००० सम्म तिर्न बाध्य हुन्छन्। निम्न वर्गका परीक्षार्थीहरूलाई SEE परीक्षाले थप आर्थिक भार थपिदिएको छ। यदि आफ्नै पढ्ने विद्यालयमै परीक्षा दिने सुविधा भएको भए परीक्षार्थीहरूले आर्थिक र मानसिक भार खेप्नु पर्दैनथ्यो।