संघीय प्रणालीमा पनि कष्टकर SEE परीक्षा

हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षा सञ्चालन गर्दै आइरहेको छ। हरेक वर्ष लाखौँ विद्यार्थी परीक्षामा सहभागी हुन्छन्।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी हुन परीक्षार्थीहरू विभिन्न ठाउँबाट तोकिएको परीक्षा केन्द्रमा पुग्छन्। सहरी क्षेत्र वा भनौँ सुगम क्षेत्रको सवालमा परीक्षार्थीहरू सोही दिन परीक्षा केन्द्रमा पुग्न सक्छन् र आरामले परीक्षामा सहभागी हुन्छन्।

सहरी क्षेत्रमा प्रशस्त सवारी साधनको सुविधा भएको हुनाले परीक्षार्थीहरूलाई निकै टेवा पुगेको छ।

तर ग्रामीण क्षेत्रको हकमा परीक्षार्थीहरू भौगोलिक विकटताका कारण एक दिन अगाडि नै हिँड्नुपर्ने बाध्यता छ। भौगोलिक विकटता भएता पनि सडक जताततै निर्माण भएको छ, तर सवारी साधनको पहुँच पाउन उत्तिकै कठिन छ।

बल्लतल्ल सवारी साधन जुट्छ, तर परीक्षार्थीहरू मोसन सिकनेसबाट बच्न सक्दैनन्। तसर्थ ग्रामीण भेगका परीक्षार्थीको लडाइँ परीक्षा केन्द्र नपुगी सुरु हुन्छ।

परीक्षार्थीको भौगोलिक अवस्था

ग्रामिण क्षेत्रमा एउटा विद्यार्थी सवारी साधनको सुविधाबाट वञ्चित भएकै कारण विद्यालयसम्म पुग्न लगभग २ देखि २.३० घण्टा पैदल यात्रा गर्नुपर्छ।

सातौँ घण्टीसम्मका किताब र कापीको तौल लगभग ५/६ केजी बोकी दिनदिनै विद्यालय जान्छन्।

विद्यालय जसोतसो गरी पुगेर पढेका कक्षा १० का विद्यार्थी नै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी हुन परीक्षा केन्द्रमा पुग्नुपर्ने हुन्छ।

आफ्नै वडाको विद्यालय पुग्न २ देखि २.३० घण्टा लाग्दा जिल्लाको गाउँपालिकासम्म पुग्न पैदल यात्राको कल्पनासम्म गर्न सकिँदैन।

स्थानीय सरकारले विकासका पूर्वाधार निर्माणमा सडक विस्तार राम्रोसँग गरे पनि त्यसको उपभोगको सुविधा सबै मानिसले पाएका छैनन्। हुनेखानेले निजी सवारी साधन प्रयोग गरेका छन् भने निम्न वर्गका मानिसहरू सडकमा गुड्ने सवारी साधन टुलुटुलु हेर्न बाध्य छन्।

परीक्षार्थीको मानसिक अवस्था

SEE परीक्षा राष्ट्रिय स्तरको परीक्षा भएकाले यसलाई अहिलेसम्म पनि “फलामे ढोका” भन्ने चलन यथावत रहेको पाइन्छ।

परीक्षा दिनका लागि परीक्षार्थीहरू विभिन्न वडाबाट परीक्षा केन्द्र तोकिएको गाउँपालिकातिर जान्छन्।

नेपालको भौगोलिक अवस्था निकै चुनौतीपूर्ण रहेकाले सवारी साधन भनेको बेला पाउन निकै कठिन हुन्छ। विभिन्न मुख्य सडक र शाखा सडक खोली रामेछाप जिल्लाका हरेक गाउँपालिकामा पुग्ने सडक निर्माण भएता पनि सवारी साधन पाउन निकै कठिन भएको देखिन्छ। यस्तो समस्या रामेछापको मात्र नभई नेपालका अधिकांश जिल्लाको अवस्था उस्तै देखिन्छ।

सवारी साधन अभावका कारण उत्साहित मनसँगै परीक्षार्थीहरू अटाई–नअटाई एउटै साधनमा २ देखि ४ घण्टाको यात्रा गर्न बाध्य छन्।

साथै उनीहरू मोसन सिकनेससँग जुध्न पनि बाध्य हुन्छन्। यसरी कष्टकर यात्रा पार गर्दै परीक्षा दिन शारीरिक र मानसिक यातना सहँदै परीक्षार्थीहरू परीक्षा केन्द्रमा पुग्छन्। उत्साहसँगै थकित शरीर, थुप्रै मानसिक तनाव र आर्थिक बोझका साथै परीक्षा दिन अभ्यस्त छन् ग्रामीण भेगका परीक्षार्थी।

परीक्षार्थीलाई आर्थिक भार

SEE को परीक्षामा परीक्षार्थीहरू परीक्षा केन्द्रमा सहभागी हुन जाँदा उनीहरूको ठूलो रकम खर्च हुन्छ।

गाडीमा आवतजावतको भाडा, परीक्षाको अवधिसम्म बस्दा लाग्ने कोठा भाडा, खाना र खाजा खर्च गरी ठूलो राशि सकिन्छ। यही परीक्षाको मौका छोपी परीक्षा केन्द्रका व्यापारीहरू पनि नाफा कमाउन तल्लीन हुन्छन्। यो बेला साविकको भन्दा अलिकति महँगी बढ्छ। माग बढ्दा मूल्य पनि बढेझैँ त्यस ठाउँमा परीक्षा केन्द्र तोकिएकै बेला माग बढ्छ र मूल्य पनि सँगसँगै बढ्छ।

यो समयमा ७ देखि ८ दिनको अवधिमा परीक्षार्थीहरूले प्रति व्यक्ति रु ५००० देखि १०००० सम्म तिर्न बाध्य हुन्छन्। निम्न वर्गका परीक्षार्थीहरूलाई SEE परीक्षाले थप आर्थिक भार थपिदिएको छ। यदि आफ्नै पढ्ने विद्यालयमै परीक्षा दिने सुविधा भएको भए परीक्षार्थीहरूले आर्थिक र मानसिक भार खेप्नु पर्दैनथ्यो।

रूप फेरियो तर सार उही

आजभन्दा अगाडि जब केन्द्रीय शासन प्रणाली थियो, त्यतिखेर SLC परीक्षाको परीक्षा केन्द्र जिल्लामा तोकिन्थ्यो। परीक्षार्थीहरू जिल्ला पुग्न २/३ दिन अगावै सामान बोकेर परीक्षा केन्द्र पुग्नुपर्थ्यो र आफैँ पकाएर खानुपर्ने बाध्यता थियो। समयसँगै होटलको सुविधा आएपछि परीक्षार्थीहरूको पकाउने झन्झट समाप्त भयो तर आर्थिक बोझ थपियो।

२०७२ को नेपालको संविधान २०७२ ले शासन प्रणालीलाई तीन तहमा विभाजन गरेता पनि वर्तमान समय २०८२/१२/१९ सम्म आइपुग्दा नेपालको शासन प्रणाली मात्र फेरिएको पाइन्छ।

केन्द्रीकरण शासन प्रणाली विकेन्द्रीकरणमा परिणत भएता पनि परीक्षार्थीले भोग्नुपर्ने समस्या यथावत नै छ। स्थानीय सरकारले गाउँ–गाउँमा सडकको राम्रै व्यवस्था गरे पनि सडकमा गुड्ने सवारी साधनको भने अभाव छ।

स्थानीय सरकारले सडकमा गुड्ने लोकल सवारी साधनको व्यवस्था गरिदिएको भए परीक्षार्थीले सास्ती खेप्नु पर्दैनथ्यो। स्थानीय सरकार भएता पनि परीक्षार्थीहरूले परीक्षा दिन जाँदा विभिन्न मानसिक तनावसँगै चर्को मूल्य तिरेर होटलमा बस्नु पर्ने बाध्यता देखिन्छ।

नयाँ स्थानीय सरकार हुँदा पनि परीक्षा सञ्चालन गर्ने विधि उही पुरानै प्रविधिले नै गाजेको छ। केन्द्रीकरण शासन प्रणालीबाट विकेन्द्रीकरण शासन प्रणालीसम्म आइपुग्दा प्रणाली बाहेक अरू परीक्षार्थीले भोग्नुपरेका समस्यामा परिवर्तन भएको पाइँदैन।

सपना जेतिचा सुनुवार, रामेछाप
Email: koinch8gmail.com

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img