जनता समाजवादी पार्टी निकट लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेश १ को नाम ‘किरात प्रदेश’ मात्रै राखिए त्यो मान्य नहुने बताएका छन् ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिले आज विराटनगरमा आयोजना गरेको कोणसभामा माखिमले घुमाउरो शैलीमा किरात प्रदेश मान्य बताएका हुन् ।
‘हामीले सुनिरहेका छौं, किरात समुदायभित्र सबै परिन्छ, हो सबै त परिन्छ त, चाइना पनि हो । चाइनिजहरु पनि किराती नै हुन्,’ उनले भने, ‘मेचीदेखि महाकालीसम्म हिमालदेखि तराईसम्मका सबै समुदाय एउटै हुन् भन्दैमा एउटै नाम राख्नुपर्छ भन्ने भनाइ सुनिराखेका छौं, त्यसो भएको हुनाले हामी यसलाई खारेज गर्न चाहन्छौ र भन्न चाहन्छौं यो १ नम्बर प्रदेशभित्र लिम्बुवानको पनि भूभाग छ, किरातको पनि भूभाग छ, शेर्पालुङको पनि भूभाग छ र अन्य थुप्रै समुदायको भूभाग छ ।‘
उनले इतिहासका आधारमा र लिम्बुवान आन्दोलनका हिसाबले अहिलेका लागि प्रदेश १ को नाम ’लिम्बुवान किरात प्रदेश’ राख्दा समाधान हुने बताए ।
उनले भने, ’सभ्यताको नाममा यहाँ भएको ऐतिहासिक लिम्बुवान आन्दोलनलाई बिर्सिएर बाइपास गरेर कोही जान्छ भने लिम्बुवान आन्दोलनले छोड्नेवाला छैन ।‘
उनले इतिहासमा पृथ्वीनारायण शाहले ब्युँझाएको लिम्बुवानलाई जनयुद्धको नाममा माओवादीले पनि ब्युँझाएको र अहिले प्रदेश १ मा रहेका राजनीतिका छोटेडनहरुले पनि ब्युँझाए नछोड्ने चेतावनी दिए ।
हाल प्रदेश १ काे नामकरणमा राजनीतिक दलदेखि सामाजिक संस्थाका अगुवाहरुकाे पनि साझा धारणा बन्न सकेकाे छैन ।
किरात याक्थुङ चुम्लुङसहित विभिन्न दलनिकट लिम्बु समुदायका नेताहरुले प्रदेशकाे नाम लिम्बुवान किरात प्रदेश हुनुपर्ने माग गरिरहेका छन् भने किरात राई यायाेक्खासहित राई समुदायका अगुवाहरुले किरात प्रदेश राख्नुपर्ने माग गरिरहेका छन् ।
