जसपाको मुद्दा सम्बोधन गर्न कांग्रेस तयार

ओली सरकार ढाल्न तीन दलबीच छलफल

नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनका लागि कसरत सुरु गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुलाई बोलाएर ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव गरेका छन् ।

देउवाको प्रस्तावमा माओवादी केन्द्र र जसपाका नेताहरु सकारात्मक भएका छन् । कांग्रेस सभापति देउवाले पहिलोपटक बुढानिलकण्ठस्थित आफ्नाे निवासमा बैठक राखेर औपचारिक रुपमै संसद विघटन गर्ने तथा असंवैधानिक कदम चाल्ने केपी ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउन प्रस्ताव राखेका हुन् ।

तीन दलको बैठकमा सभापति देउवाले सुरुमै नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए । जसमा जसपाका नेता महन्थ ठाकुरले आफूहरुले ओली सरकारसँग आफ्ना मुद्दाहरु सम्बोधन गर्न माग गरेको बताएका थिए ।

बैठकमा सभापति देउवाले जसपाले उठाएको माग सम्बोधन गर्न तयार रहेको बताएका थिए । जसपाले जेलमा रहेको सांसद रेशम चौधरी लगायत थारु नेताहरुलाई मुक्त गर्नुपर्ने, उनीहरुमाथि लगाइएको मुद्दा खारेज गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।

संसद विघटन गरी असंवैधानिक कदम चाल्ने केपी ओली सरकारलाई जसरी पनि हटाउनुपर्नेमा तीन दलका नेताहरु तयार देखिएका छन् ।

बैठकमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल, कृष्ण सिटौला र पूर्णबहादुर खड्का थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए ।

जसपाबाट भने महन्थ ठाकुरसहित राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्