महन्थ ठाकुरलाई आठ प्रश्नसहित सोधियो स्पष्टीकरण

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनालाई स्पष्टीकरण सोधेको छ ।

जसपाले मंगलबार ठाकुर र महतोसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई तीन दिनभित्र जवाफ माग्दै स्पष्टीकरण सोधेको हो ।

कर्ण र शुक्ल जसपाको कार्यकारिणी सदस्य हुन् ।

जसपाको गत जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

ठाकुरलाई सोधिएको स्पष्टीकरणमा पार्टीको विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने ? भनी आठ प्रश्न गरिएको छ ।

ठाकुरलाई सोधिएको प्रश्नः

१) प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?

२) पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकको बेवास्ता गर्ने, अनुपस्थित हुने तर आफ्नाे समर्थकलाई मात्र बोलाई पार्टी विधान र आचारसंहिता विपरीत गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको ?

३) पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदाहुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?

४) पार्टीको निर्णयविना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्र लेख्ने/पठाउने कार्य किन गरेको ?

५) मिति २०७८।०२।०३ गते दुई अध्यक्षले जारी गरेको ८ बुँदे सहमतिको पालना किन नगरेको ?

६) पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदमा पत्र पठाएको ?

७) पार्टीको आधिकारिक निर्णय विना सरकारसँग वार्ता गर्ने भनी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारसँग वार्ता कार्यदल किन पठाइयो ?

८) विधानमा नभएको व्यवस्थालाई आफूखुसी स्वेच्छाचारिता लाद्ने र पार्टीलाई आफ्नाे पकेट बनाउने कार्य एवम् क्रियाकलाप किन गरेको ?

जसपाले स्पष्टीकरण पत्रमा महतोलाई पाँच तथा कर्ण र शुक्ललाई चार/चार प्रश्न गरेको छ ।

ठाकुर समूह भने जवाफ दिने पक्षमा छैन । उनीहरु पूर्व राजपा पार्टी ब्यूँताएरै भए पनि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले ठाकुर समूहलाई दुई राज्यमन्त्री सहित ८ मन्त्रालय दिने बताएका छन् ।

भारतीय नागरिक रहेको भन्दै नागरिकता छानबिनको काण्डमा मुछिएका राजेन्द्र महतोले गृह मन्त्रालय दाबी गरेका छन् । प्रधानमन्त्री ओली भने महतोलाई नै चाहिँ गृह मन्त्रालय नदिने पक्षमा छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्