भट्टराईको प्रस्तावः अब हात मिलाएरै आ-आफ्नाे बाटो लागौं

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर समूहतिर लक्षित गर्दै अब सल्लाह गरेरै आ-आफ्नो बाटो लाग्न सार्वजनिक रुपमै प्रस्ताव गरेका छन् ।

ठाकुर समूहले पार्टी निर्णय र नीतिविना नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेपछि पार्टी फुटको संघारमा पुगेको बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटरमार्फत हात मिलाएरै आ-आफ्नाे बाटो लाग्न प्रस्ताव गरेका हुन् ।

जसपाभित्र हाल महन्थ ठाकुर र राजेन्द्र महतो ओली समर्थक बनेका छन् भने अध्यक्ष भट्टराई, केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई ओली सरकारको विपक्षमा उभिएका छन् ।

ठाकुर समूहले संसदीय दलमा बहुमत पुर्याएको छ भने भट्टराई, यादव र राई समूहले पार्टीको कार्यकारिणी समितिमा आफ्नाे बहुमत कायम राखेको छ ।

पार्टीको महत्वपूर्ण निकाय रहेको कार्यकारिणी समितिमा आफ्नाे पक्षमा बहुमत पुर्याउन नसक्दा ठाकुर समूहलाई ओली सरकारमा गइहाल्न अप्ठेरो परिरहेको छ ।

पटकपटक असंवैधानिक तथा अलाेकतान्त्रिक ढंगले संसद विघटन गर्ने, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशीको विरोध गर्ने ओलीलाई ठाकुर पक्षले समर्थन गर्दा जसपा विभाजन हुने निश्चित भएको छ ।

ठाकुर समूह दुई राज्यमन्त्रीसहित दश मन्त्री पाउने गरी काम चलाउ सरकार भइसकेको ओली सरकारमा सहभागी हुने तयारी गरिरहेको छ ।

केही महिना भए पनि मन्त्री हुन पाउने भएकाले जसपाका बहुमत सांसदहरु हाल ठाकुरको पछि लागेका छन् ।

ठाकुर समूहले पार्टीका कतिपय सांसदहरुलाई मोटो रकम दिएर आफ्नाे पक्षमा पारेका थिए । हाल उक्त समूहले कार्यकारिणी सदस्यहरुलाई पनि प्रभाव पार्ने प्रयास गरिरहेको छ ।

कार्यकारिणी समितिको ५१ सदस्यमा २० जना मात्र ठाकुरको पक्षमा छन् । बाँकी ३१ जना सदस्य भट्टराई, यादव र राई समूहमा छन् ।

केही दिनअघि ठाकुर समूहले आफ्नाे समूहमा आउने कार्यकारिणी समिति सदस्यहरुलाई जनही ५० लाख रुपैयाँ दिने प्रस्ताव गरेको समाचार पनि सार्वजनिक भएको थियो ।

नेता भट्टराईले आइतबार ट्वीटरमार्फत मान्छे तानातान र किनबेचको तमासा नगर्न ठाकुर समूहसँग आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ । समयले ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊ, हात मिलाएर आ-आफ्नाे बाटो लागौं, हिडिरहे फेरि भेट हुनेछ ।’

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गरिदिनुहाेलाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्