खुवालुङ नष्ट गर्ने बजेट नीति तुरुन्त सच्याऊः आदिवासी जनजाति साहित्यकार महासंघ

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ नेपालले सरकारले आदिवासी जनजातिहरुको सांस्कृतिक सम्पदाहरुलाई नष्ट गर्ने र एकल जातीय तथा संस्कृतिका सम्पदाहरुको मात्र विकास गर्ने एकल जातीय ढाँचाको बजेट ल्याएको भन्दै बजेटमा रहेको आदिवासी जनजातिहरुको उपहास गर्ने योजनाहरु तुरुन्त सच्याउन माग गरेको छ ।

महासंघका अध्यक्ष राजन मुकारुङ र महासचिव बुद्ध योन्जन लामाले सोमबार एक विज्ञप्ति जारी गरी बजेटमा राखिएको विभेदकारी योजनाहरु तुरुन्त सच्याउन सरकारसँग माग गरेका हुन् ।

महासंघले केपी ओली नेतृत्वको वर्तमान सरकार काम चलाउ सरकार भइसकेकोले अहिलेको बजेट पनि असंवैधानिक रहेको जनाएको छ ।

महासंघले बजेटको बुँदा नं ३०४ मा ‘कोसी नदीको चतारादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइनेछ’ भनेर राखिएको र बुँदा नं ३५६ मा ‘ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल बनाइनेछ’ भन्ने राखिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

सरकारले बजेटको बुँदा नं ३०४ को व्यवस्था अनुसार अरुण, तमोर र दुधकोसीको त्रिवेणीमा रहेको किरात समुदायको सांस्कृतिक बिम्ब मानिने ‘खुवालुङ’लाई फुटाउने नीति ल्याएको महासंघको ठहर छ ।

बजेटको बुँदा नं ३५६ पनि एकल नश्लीय चिन्तनको उपज रहेको महासंघले उल्लेख गरेको छ ।

‘राज्यले राष्ट्रको गौरवको नाममा आदिवासी जनजातिलाई सदैव खलनायकीकरण गरिरहेको त छ नै, विकासको नाममा खोकनामाथि अतिक्रमण गर्ने, खुवालुङ नष्ट गर्ने, मुक्कुमलुङमाथि औपनिवेश लाद्ने, आदिवासीहरुका चिहान चौताराहरुमाथि डोजर चलाउने जस्ता हर्कतहरु निरन्तर गर्दै आइरहेकै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसपटकको सरकारको नीति तथा कार्यक्रममा त उदाङ्गै भएको छ । विशेषतः आदिवासी जनजातिहरुको सांस्कृतिक पूर्वाधारहरुलाई अवरोध देख्नु, समुदायका सांस्कृतिक नामहरुलाई अपनाउन नसकी व्यक्तिका नामहरु प्रस्ताव गर्नु एकल नश्लीय चिन्तनकै उपज हो ।’

महासंघले संविधानमा उल्लिखित धर्मनिरपेक्ष शब्दकै अपमान हुने गरी तथा नेपालका आदिवासी जनजातिहरुलाई दोस्रो दर्जाको नागरिकको अर्थमा प्रस्तुत गर्ने गरी बजेट ल्याएको आरोप लगाएको छ ।

महासंघले एकल जातिवादी, नश्लवादी, तानाशाही र दलाल पुँजीवादी सरकारविरुद्ध एकजुट भएर प्रतिरोध गर्न साहित्यकार, लेखक, संस्कृतिकर्मी, राजनीतिकर्मी, बुद्धिजीवी, नागरिक अभियान्ता, युवा, विद्यार्थी तथा आम नागरिकलाई आह्वान समेत गरेको छ ।

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गरिदिनुहाेलाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्